काठमाडौँ । अफगानिस्तानविरुद्ध नेपालले सानदार सुरुवात गरेको छ।
सुरुवाती २ ओभरमा दुई विकेट लिएको नेपालले छैठौँ ओभरमा तेस्रो विकेटका रुपमा ओपनर जमसिद जाद्रानलाई ३ रनमा आउट गर्यो। उनलाई ५.५ ओभरमा आकाश चन्दले बोल्ड गरे। आकाश चन्दको यो दोस्रो विकेट हो।
यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुग्ने निर्णायक खेलमा नेपालविरुद्ध पहिले ब्याटिङ गरेको अफगानिस्तान १ रन बनाउँदा पहिलो विकेट गुमाउन बाध्य भएको थियो। ओभरको चौथो बलमै गुल्सन झाले ओपनर नुमन साहालाई शून्य रनमा दीपक डुम्रेको हातबाट क्याचआउट गराए।
त्यस्तै, अर्को ओभरमा आकाश चन्दले खालिद तनिवाललाई पनि शून्य रनमा आउट गरेका थिए। उनले दोस्रो ओभरको तेस्रो बलमा विपीन रावलको हातबाट क्याचआउट गराए।
समूहको अन्तिम खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले फिल्डिङ गरिरहेको छ।
नेपालले यसअघि पाकिस्तानविरुद्धको खेलमा रहेको प्लेइङ ११ मा दुई परिवर्तन गरेको छ। विकेटकिपर उत्तम राना मगर र तीव्र गतिका बलर दुर्गेश गुप्तालाई टोलीबाट बाहिर राख्दै अफगानिस्तानविरुद्ध मध्यक्रमका ब्याटर दीपक बोहोरा र लेग स्पिनर तिलक भण्डारीलाई टोलीमा समावेश गरेको छ।