काठमाडौँ । अफगानिस्तानविरुद्ध नेपालले आफ्नो प्रभावशाली प्रदर्शन कायम राखेको छ। नेपाली बलर आकाश चन्द चम्किएको खेलमा उनले ४ विकेट लिँदा अफगानिस्तानले ३४ रन जोड्दा ५ विकेट गुमाउन पुग्यो।
आकाश चन्दले अफगानिस्तानका जम्सिद जाद्रानलाई ३ रनमा आउट गर्दा खालिद तनिवाललाई शून्य तथा तेस्रो विकेटका रुपमा सोहिल खान जुरमातीलाई ४ रनमा आउट गरे।
त्यस्तै, उनको चौथो सिकार अली अहमेद शून्य रनमा एलबिडब्लु आउट भए। त्यसअघि नेपाललाई गुल्सन झाले नुमन साहलाई पहिलो ओभरमै शून्य रनमा आउट गर्दै सुरुवाती सफलता दिलाएका थिए।
यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुग्ने निर्णायक खेलमा नेपालविरुद्ध पहिले ब्याटिङ गरेको अफगानिस्तान लगातार विकेट पतनसँगै संकटमा परेको छ। समूहको अन्तिम खेलमा अफगानिस्तानले टस जितेको पहिले ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले फिल्डिङ गरिरहेको छ।
नेपालले यसअघि पाकिस्तानविरुद्धको खेलमा रहेको प्लेइङ–११ मा दुई परिवर्तन गरेको छ। विकेटकिपर उत्तम राना मगर र तीव्र गतिका बलर दुर्गेश गुप्तालाई टोलीबाट बाहिर राख्दै अफगानिस्तानविरुद्ध मध्यक्रमका ब्याटर दीपक बोहोरा र लेग स्पिनर तिलक भण्डारीलाई टोलीमा समावेश गरेको छ।