काठमाडौँ । पिटर लिन्च सन् १९९० मा म्युचुअल फन्डबाट अवकाशप्राप्त एक कुशल फन्ड व्यवस्थापक हुन् । उनले सन् १९७० देखि १९९० सम्म एउटा म्युचुअल फन्डमा काम गरेमा थिए ।
म्युचुअल फन्डमा लिन्चको सफलताको मुख्य कारण भनेको उनको कुशल पैसाको व्यवस्थापन र सही स्टक छनौट नै हो । लिन्चले सेयर दीर्घकालका लागि खरिद गर्थे भने यसमा पावर अफ कम्पाउन्डिङले निकै राम्रो काम गथ्र्यो । पावर अफ कम्पाउन्डिङ भनेका नम्बर अफ सेयर र त्यसको भ्यालु बढ्दै जाने हो ।
लिन्चको कम्पनी छनौटको आइडिया पनि निकै चाखलाग्दो छ । उनले कम्पनी छनौट निकै सहज तरिकाले गर्थे। लिन्चले त्यस्ता कम्पनीमा लगानी गर्थे, जुन कम्पनीका उत्पादन धेरैभन्दा धेरै मानिसले दैनिक प्रयोग गर्थे।
उदाहरणका लागि एसियाली मुलुकमा डाबर कम्पनी । यो कम्पनीका उत्पादन दैनिक धेरै मानिसले गर्छन् ।
कम्पनी छनौटपछि लिन्चले कम्पनीको सेयर किन्न पनि निकै ध्यान पुर्याउँथे । त्यस्ता कम्पनीको सेयर लिन्चले आर्थिक मन्दी भएको समयमा अर्थात् बजार क्र्यास भएको समयमा खरिद गर्थे ।
लिन्चले सेयर खरिद गर्दा पीई रेसियो, डेब्टु टु इक्विटी रेसियो र रिटर्न अन इक्विटीलाई पनि ख्याल गर्थे । पीई रेसियोमा उनले रुल अफ २० प्रयोग गर्थे ।
रुल अफ २० भनेको के हो ?
रुल अफ २० भनेको एउटा स्टक छनौट गर्ने गज्जबको तरिका हो। यसमा देशको मुद्रास्फीति पनि जोडिएको हुन्छ। उदाहरणका लागि नेपालको हालको मुद्रास्फीति ७ प्रतिशत रहेको छ भने अब (२०–७) कम्पनीको पीई रेसियो १३ गुणा भएका कम्पनीमा मात्रै लगानी गर्नु भन्ने हो। यसलाई लिन्चको रुल अफ २० भनेर बुझिन्छ ।
कस्तो अवस्थामा सेयर खरिद र बिक्री गर्ने ?
लिन्चको विचारमा जब देशमा मन्दी छाउँछ तब मानिसहरु महँगा वस्तु खरिद गर्न डराइरहेका हुन्छन्। त्यो समय भनेको सेयर खरिद गर्ने उत्तम समय हो। अर्थात् अझ यदि बजार क्र्यास हुन्छ भने सेयर खरिद गर्ने उत्तम समय त्यही हो।
यदि कुनै समयमा कम्पनीको सेयर निकै तल खस्छ र सोही कम्पनीले सेयर बाई ब्याक गर्छ भने पनि सेयर खरिद गर्न उपयुक्त हुने लिन्चको मार्केट टिप्समा रहेको छ ।
सेयर बेच्नका लागि भने बजार बुल बजार नै आवश्यक हुन्छ । जब बजारमा दैनिक नयाँ–नयाँ लगानीकर्ता छिर्छन् र बजारले उच्च विन्दु बनाउँदै जान्छ तब सेयर बेच्ने उपयुक्त हुने लिन्च बताउँछन् ।
लिन्चको विचारमा सेयर बजारमा धेरै मानिस बजार घट्दा किन्न डराउने र बुल बजारमा मात्रै छिर्ने भएकोले गुमाउँछन् ।