काठमाडौं । सेयर बिक्री गरेको रकम नपाएको भन्दै ३३ वटा ब्रोकरविरुद्ध नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा ६०३ भन्दा बढी उजुरी परेको छ ।
विशेषगरी यस्ता गुनासो देशबाट भन्दा पनि विदेशबाट बढी आईरहेको ब्रोकरले बताएका छन् । नेप्सेले उजुरी परेका ३३ वटा ब्रोकरहरुको नाम नेप्सेको कार्यालयको भित्तामा टाँसेर नै राखेको छ । लगानीकर्ताले सेयर बिक्रीबापतको रकम नपाउनुको कारण भने नितान्त प्राविधिक समस्या भएको एक ब्रोकरले बताए ।
धेरै लगानीकर्ताले हिमालयन रि इन्स्योरेन्सको सेयर बैदेशिक रोजगारीको एनआरएन खाताबाट भरेको र यो खाताबाट सेयरको लागि आवेदन दिन मिल्ने तर सेयर बिक्रीबापतको रकम भने हाल्न निमल्ने उनले दाबी गरे । त्यहि कारण लगानीकर्ताको खातामा सेयर बेचेको पैसा खातामा जम्मा नभएको ती ब्रोकरले दाबी छ ।
दोस्रो कारण बैंकहरु मर्ज भएर ग्राहकको खाता नम्बर परिर्वतन हुँदा पनि ब्रोकरबाट लगानीकर्ताको खातामा रकम जम्मा नभएको ती ब्रोकरले बताए । कतिपय ग्राहकको फोन सम्पर्क हुन नसक्दा समेत ग्राहकको खातामा पैसा जम्मा गर्न नसकिएको ब्रोकर बताउँछन् । अहिले प्राय जसो लगानीकर्ताले अनलाइनमार्फत कारोबार गर्ने भएकाले यस्तो समस्या सिर्जना भएको ब्रोकरहरु बताउँछन् ।