काठमाडौं । इजरायल-हमास युद्धको प्रभावका कारण नेपालले तत्कालका लागि इजरायलमा श्रम स्वीकृत बन्द गर्ने भएको छ । गत साता हमासले आकस्मिक रुपमा इजरायलमाथि आक्रमण गरेपछि दुई देशबीच द्वन्द्ध बढिरहेको छ । आकस्मिक रुपमा भएको बमबारीमा परेर १० नेपालीको निधन भएको थियो ।
बढ्दो असुरक्षा र जोखिमलाई ध्यानमा राख्दै सरकारले इजरायलको श्रम स्वीकृत बन्द गराएको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालका अनुसार इजरायलका लागि श्रम स्वीकृति दिने काम अनिश्चितकालका लागि बन्द गरेको हो । साथमा यसअघि नै श्रम स्वीकृति लिइसकेका र उडानको मिति निश्चित भइसकेकाको हकमा समेत यात्रा रोकिएको छ ।
यस्तै अध्यागमन विभागले ट्राभल एडभाइजरी जारी गर्दै विभिन्न प्रयोजनमा इजरायल प्रस्थान गर्ने तयारीमा रहेका सबै नेपाली नागरिकलाई इजरायल भ्रमणको योजना स्थगित गर्न आग्रह गरेको छ । जारी द्वज्द्वमा परी नेपाली नागरिकले समेत ज्यान गुमाउनु परेको भन्दै विभागले यस्तो एडभाइजरी जारी गरेको हो ।
वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये ८८ प्रतिशत नेपाली मलेसिया र खाडी मुलुकमा रहेको अनुमान छ । यसमध्ये सबैभन्दा आकर्षक आम्दानी हुने मुलुक इजरायल हो । वैदेशिक रोजगारी व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार मध्यपूर्वी मुलुकमध्ये इजरायल जानेले सबैभन्दा राम्रो आम्दानी गरिरहेका छन् ।