काठमाडौं । सत्ता समीकरण फेरबदलसँगै लगानीकर्ताहरु उत्साहित हुँदा सेयर बजार परिसूचक (नेप्से)मा आज कारोबार खुलेदेखि नै उछालको माहौल देखिएको छ ।
ब्रोकर हाउसहरुमा लगानीकर्ताहरु प्रसन्न मुद्रामा कारोबार गर्दै बजार नियालिरहेका छन् ।
केही लामो समयदेखि साइडवेजमा गएको बजारका लागि ब्याजदरमा भएको लगातारको गिरावट, बैंकिंग प्रणालीमा थुप्रिएको तरलता, नीतिगत लचकता लगायत थुप्रै गुड न्यूज थिए । तर, पनि बजार बढ्न सकेको थिएन, लगानीकर्ताको मनोबल उच्च बन्न सकेको थिएन ।
बजार बढोत्तरीका लागि कुनै न कुनै गतिलो बाहाना खोजिरहेका लगानीकर्ताहरुका लागि तुलनात्मक रुपमा बजारप्रति नरम कम्युनिष्टहरुबाटै अर्थमन्त्रीमा प्रतिनिधित्व हुने सुनिश्चिततासँगै आशा बढेर गएको देखिएको छ । बजारमैत्री अर्थमन्त्रीको आगमन हुने र कम्युनिष्ट नेतृत्वको सरकारले अर्थतन्त्र सुधारका लागि निर्मम बनेर नीतिहरु ल्याउने आशामा लगानीकर्ताहरुले खरिदारी बढाउँदा नेप्से परिसूचकमा सर्किटमाथि सर्किट लागिरहेको छ ।
ब्रोकर हाउसहरुमा भेटिएका लगानीकर्ताहरुले सोमबारदेखि बजारमा बुल सुरु भएको घोषणासम्म गर्न भ्याएका छन् । कतिपयले भने बजारमा टिक्नेखालको बढोत्तरी सुरु भए मात्र बुलको सुरुवात भएको मान्न सकिने बताएका छन् ।
नेप्से परिसूचक ११७.७० अंक(६ प्रतिशत)ले बढेर २०७८ को विन्दूमा बन्द भएको हो ।
लगानीकर्तामा उत्साह देखिँदा बजार खुलेदेखि नै नेप्से परिसूचकमा एकपछि अर्को पोजिटिभ सर्किट लागेको थियो । कारोबार सुरु भएको ४ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतभन्दा बढीले वृद्धि भएपछि पहिलो सर्किट ब्रेकर लगाइएको थियो । त्यसपछि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो ।
त्यसपछि खुलेको बजारमा १ मिनेटमै ५ प्रतिशतभन्दा बढीले वृद्धि भएपछि दोश्रो सर्किट ब्रेकर लगाई ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो ।
त्यसपछि खुलेको बजार तल झर्न मानेन । उछालको गति उस्तै रहेका कारण दोश्रो सर्किट ब्रेकर लगाई खुलेको एक मिनेटमै नेप्से परिसूचक ६ प्रतिशतले बढ्यो । फलस्वरुप नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले सोमबारका लागि कारोबार स्थगन गरिदिएको हो ।
यसरी हेर्दा सोमबार बजारमा ६ मिनेट पनि कुल कारोबार हुन पाएन । नेप्सेमा कारोबार खुलको पहिलो घण्टामा ४ प्रतिशतले बजार तलमाथि भए सर्किट ब्रेक लाग्ने र २० मिनेटका लागि कारोबार स्थगन हुने व्यवस्था छ ।