शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • बुढानीलकण्ठका मेयरलाई १ महिना कैद सजाय


    हुलाक प्रेस

    • आइतबार, जेठ १३ २०८१०७:१८
    बुढानीलकण्ठका मेयरलाई १ महिना कैद सजाय

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई १ महिना कैद सजाय सुनाएको छ ।

    अदालतले चलन चलाइदिनू भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यसलाई अदालतको अवहेलना भनेको छ । अदालतको अवहेलनामा मेयर अधिकारीसँगै वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई १ महिना कैदको आदेश सुनाइएको हो ।

    उनीहरुलाई मुलुकी देवानी संहिताको दफा २६८ को १६ अनुसार सजाय गरिएको अदालतको आदेशमा उल्लेख छ ।
    ‘माथि उल्लिखित कैदका हकमा प्रतिवादीहरुले अब ६० दिनभित्र संरचना हटाई निवेदक एवं वादीलाई चलन दिई कब्जा छाडिदिएको प्रतिवेदन पेश गरेमा उक्त कैद असुल गर्न पर्दैन’ आदेशमा भनिएको छ ।

    तर ६० दिनभित्र पनि संरचना हटाई नलगेमा अदालतबाट संरचना हटाइदिन र लागेको खर्च बुढानीलकण्ठ नगरपालिकाबाट असुल गर्न पनि आदेश दिइएको छ ।

    यसअघि २०८० मंसिर १७ गते एउटा जग्गा विवादमा नगरपालिकाको विपक्षमा फैसला सुनाएको थियो । उक्त जग्गा १०० दिनभित्र व्यक्तिलाई उपयोग गर्न दिनू भनी अदालतले गरेको फैसला नगरपालिकाका मेयर र दुई वडाध्यक्षले अटेर गरेको भन्दै चन्द्रबहादुर थापाले पुन निवेदन दिएका थिए । सो मुद्दामा काठमाडौं जिल्ला अदालतले गत ११ जेठमा आदेश सुनाएको हो ।

    ‘ यस अदालतको फैसला माथिल्लो अदालतबाट बदर नभएसम्म सो फैसला अक्षरशः कार्यान्वयन गर्नुपर्ने हुन्छ । त्यसमा पनि नगरपालिकाजस्तो राज्य शक्तिको प्रयोग गर्ने नियकाले यो वा त्यो वहानामा अदालतको फैसलालाई अन्यथा हुने गरी काम व्यवहार गर्न मिल्दैन’, आदेशमा भनिएको छ ।


    प्रतिक्रिया दिनुहोस