काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बिहीबार आयोजक अमेरिकासँग अन्तिम वार्मअप म्याच खेल्नेछ ।
अमेरिकाको डलासको ग्रान्ड प्रेरी स्टेडियममा हुने खेल राति सवा ९ बजे सुरु हुनेछ । विश्वकपको तयारीमा रहेको नेपाल र अमेरिकाले एकअर्काविरुद्ध खेलेसँगै प्रतियोगिताका लागि तयार हुनेछन् ।
विश्वकपमा सहभागी सबै टोलीलाई आईसीसीले दुई वार्मअप म्याचको व्यवस्था गरेको थियो। सोही अनुरुप नेपालले पहिलो वार्मअप म्याचमा क्यानडाविरुद्ध खेलेको थियो । सो खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको थियो ।
अमेरिकाले भने आफ्नो पहिलो वार्मअप म्याच खेल्न पाएन। बंगलादेशसँग मंगलबारका लागि तय भएको वार्मअप म्याच खराब मौसमका कारण हुन सकेन । नेपालले ४ जुनमा नेदरल्यान्डस्सँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ । आयोजक अमेरिकाले जुन २ मा क्यानडासँग विश्वकपको उद्घाटन खेल खेल्नेछ। विश्वकपको उद्घाटन खेल यही मैदानमा हुनेछ ।
विश्वकपको तयारीका लागि नेपालले वेष्ट इण्डिजमा तीन अभ्यास खेल खेलेको थियो । तीन खेलको सिरिजमा नेपालले विनवार्ड भोल्क्यानोजविरुद्ध २–१ ले जित निकालेको थियो ।
वेष्ट इण्डिजबाट अमेरिका पुगेको नेपाली टोलीले ह्युस्टनमा ह्युस्टन हरिके्रन्स दुई अभ्यास खेल खेलेको थियो । ती दुवै खेल नेपालले जितेको थियो ।
हेड टु हेड
नेपाल र अमेरिका ११ वर्षपछि दोस्रो पटक टी–२० क्रिकेटमा भेट हुँदैछन् । यसअघि सन् २०१३ मा विश्वकपको छनोटको वार्मअप म्याचमा नै यी दुई टोली आमनेसामने भएका थिए। सो खेलमा नेपाल अमेरिकासाग ५ विकेटले पराजित भएको थियो ।