बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • लघुबीमा कम्पनीको प्राथमिक सेयर निष्कासनको प्रक्रिया, १ अर्ब बढीको आईपीओ आउँदै


    हुलाक प्रेस

    • आइतबार, जेठ २० २०८११०:४९
    लघुबीमा कम्पनीको प्राथमिक सेयर निष्कासनको प्रक्रिया, १ अर्ब बढीको आईपीओ आउँदै

    काठमाडौं । सञ्चालनमा रहेका लघुबीमा कम्पनीहरुले पनि प्राथमिक सेयर(आईपीओ) निष्कासनको प्रक्रिया अघि बढाएका छन् । हाल ३ लघु जीवन बीमा र ४ निर्जीवन लघुबीमा गरी कुल ७ वटा लघुबीमा कम्पनी सञ्चालनमा छन् ।  

    हाल लघुबीमा कम्पनीहरुको चुक्तापूँजी ७५ करोड रुपैयाँ छ । लघुबीमा कम्पनीले कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने नियम छ । नियमअनुसार प्रत्येक लघुबीमा कम्पनीले चुक्तापूँजीको न्यूनतम ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्दा प्रत्येक कम्पनीले २२ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्नुपर्नेछ ।  

    सोही बमोजिम अधिकांश लघुबीमकले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाइसकेका छन् । ती कम्पनीहरुले आईपीओ निष्कासन गर्ने प्रस्ताव आ–आफ्नै वार्षिक साधारण सभाबाट समेत पारित गराइसकेका छन् ।

    हालैमात्र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्नका लागि बिक्री प्रबन्धक पनि नियुक्त गरिसकेका छन् ।  

    गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन  गर्ने तयारीमा छ । कम्पनीले धितोपत्र शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्याफिटललाई नियुक्त गरेको छ ।

    यसैगरी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले पनि २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटललाई नियुक्त गरेको छ ।

    स्टार माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सले  पनि  आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराइसकेका छन् । अब आवश्यक प्रक्रिया पूरा गरेका ती कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्नेछन् ।  

    लघुजीवन बीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी छन् भने निर्जीवन लघु बीमा व्यवसायतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी छन् ।


    प्रतिक्रिया दिनुहोस