बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • घुसबापत भक्तपुरमा जग्गा लिने इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद


    हुलाक प्रेस

    • बिहीबार , जेठ ३१ २०८१०७:४४
    घुसबापत भक्तपुरमा जग्गा लिने इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद

    काठमाडौं । लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाइएको छ । विशेष अदालतले गत चैत २४ मै कसुरदार कायम गरेकोमा आज बिहीबार सजाय निर्धारण गरेको हो ।

    भट्टराई कोषमा योजना प्रमुखका रूपमा कार्यरत थिए । उनले आफ्नो कामसँग सम्बन्धित ठेकेदारसँग ८० लाख रुपैयाँ लिएको पुष्टि भएपछि सजाय सुनाइएको विशेषले जनाएको छ । 

    विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो । इन्जिनियर भट्टराईलाई उक्त इजलासले ६ वर्ष कैद र ८० लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।
     
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २५ चैतमा भट्टराईका साथै उनकी आमा जनकनन्दनी भट्टराईलाई प्रतिवादी बनाएको थियो । उनले घुसबापत लिएको जग्गा आमाका नाममा राखेको भन्दै जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो ।

    इन्जिनियर भट्टराईले भक्तपुर जिल्लाको साबिक गुन्डु गाविस (हालको सूर्यविनायक नगरपालिका ७) मा दुई कित्ता जग्गा खरिद गरेका थिए । जुन उनकी आमाको नाममा रहेको अख्तियारको अनुसन्धानबाट देखिएको थियो ।

    उनले एक ठाउँमा दुई रोपनी नौ आनाभन्दा बढी जग्गा र अर्को ठाउँमा दुई आना एक पैसा जग्गा खरिद गरेका थिए । यसका लागि कोषमा काम गर्ने ठेकेदारसँग घुस माग गर्नुका साथै ती ठेकेदारकै बैंक खाताबाट जग्गा विक्रेताको खातामा ४० लाख रुपैयाँ पठाउन लगाएका थिए । ठेकेदारकै खाताबाट जग्गा खोजिदिने व्यक्तिको खातामा पनि ४० लाख रुपैयाँ गएको देखिएको थियो ।

    दुवै रकम जोडेर बिगो कायम गर्दै दुई महिनाअघि मुद्दा दायर भएकोमा सजाय सुनाइएको हो । भट्टराईले मर्यादाविपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।


  • सम्बन्धित विषय:

  • # विशेष अदालत
  • प्रतिक्रिया दिनुहोस