काठमाडौं । दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ को सुपर–८ खेलमा वेष्टइन्डिजलाई ३ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।
दक्षिण अफ्रिकाको सर भिभियन रिचर्ड्स रंगशालामा टस हारेर जारी विश्वकपमा डकवर्थ लेविस पद्धतिको आधारमा दक्षिण अफ्रिकाले सुपर–८ को ग्रुप बी बाट ६ अंक बटुल्दै शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगन सफल भएको हो ।
दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउँदै १२३ रनको लक्ष्य पूरा गर्यो । दक्षिण अफ्रिकाको लगातार सातौं जित हो ।
जितका लागि अफ्रिकाका ब्याटर ट्रिस्टन स्टब्सले २७ बलमा ४ चौकासहित २९ रन बनाए भने ओपनर क्विन्टन डि कक १२, एडेन माक्ररम १८, डेविड मिलर ४ र रिजा हेन्ड्रिक्स शून्यमा आउट भए। यस्तै मार्को यानसन १४ बलमा १ चौका र १ छक्कासहित २१ र कागिसो रबाडा ५ रनमा नट आउट रहे ।
त्यसअघि पहिला ब्याटिङको निम्तो पाएको वेष्टइण्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। वेष्टइण्डिजका लागि रोश्टन चेशले ४२ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५२ रन जोडे । यस्तै ओपनर निकोलस पुरन १ र साई होप शून्य रनमा आउट भएका थिए ।