बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • ‘ब्रेन फुड’ भनेर चिनिने ओखर किन्दा पाँच वर्षमा बाहिरियो ३ अर्ब १३ करोड


    हुलाक प्रेस

    • बुधबार, कात्तिक २९ २०८००२:०३
    ‘ब्रेन फुड’ भनेर चिनिने ओखर किन्दा पाँच वर्षमा बाहिरियो ३ अर्ब १३ करोड

    काठमाडौं । ‘ब्रेन फुड’ भनेर चिनिने ओखरको खपत नेपालमा ठूलो मात्रमा हुने गरेको छ । वार्षिक औसत २० लाख किलो ओखर नेपालमा आयात हुने गरेको हो ।

    मस्तिष्कलाई स्वस्थ्य राख्न र रक्तप्रवाहलाई नियमित गराउन सहयोग गर्ने ओखरको सेवन हिजोआज नियमित गर्ने प्रचलन बढ्दै गएको छ । अधिक मात्रामा पोषक तत्व पाइने ओखर तिहारमा दिदीबहिनीले दाजुभाइलाई सगुनका रुपमा दिने गर्छन् । नेपालमा अमेरिका, चीन, भारत, युनाइटेड अरब इमिरेट्स (यूएई) र चिलीबाट ओखर आउने गरेको छ । सबैभन्दा बढी ओखर चीनबाट आउँछ । भन्सार विभागको तथ्यांकअनुसार पाँच वर्षको अवधिमा ३ अर्ब १३ करोड रुपैयाँको ओखर नेपाल भित्रिएको छ । पाँच वर्षको अवधिमा १ करोड २ लाख २४ हजार ८२९ किलो ओखर आयात भएको छ ।

    नेपालमा आर्थिक वर्ष २०७५/७६ मा २१ करोड ७८ लाख ७० हजार रुपैयाँबराबरको ७ लाख ७९ हजार ४६२ किलो ओखर आयात भएको छ । त्यस्तै आव २०७६/७७ मा ७७ करोड ४४ लाख ८३ हजार रुपैयाँबराबरको २४ लाख ५३ हजार ४०९ किलो आयात भएको छ ।

    अर्को वर्ष भने नेपालमा उच्च परिमाणमा ओखर भित्रियो । आव २०७७/७८ मा १ अर्ब ५ करोड ९७ लाख ३ हजार रुपैयाँबराबरको ३४ लाख ७९ हजार ८३७ किलो ओखर आयात भएको हो ।

    त्यस्तै आव २०७८/७९ मा ७२ करोड ८५ लाख ६२ हजार रुपैयाँबराबरको २३ लाख ७९ हजार १९७ किलो र आव २०७९/८० मा ९१ करोड ५२ लाख ४६ हजार रुपैयाँबराबरको २८ लाख ६ हजार ८७१ किलो ओखर आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

    चालु आर्थिक वर्ष २०८१/८१ को साउनदेखि असोजसम्ममा ३७ करोड ६५ लाख २२ रुपैयाँबराबरको १० लाख ९६ हजार ४०३ किलो ओखर भित्रिएको छ । यो गत वर्षको तुलनामा बढी हो । गत आवको सोही अवधिमा २६ करोड १७ लाख ३५ हजार रुपैयाँबराबरको ८ लाख ७ हजार ४४६ किलो ओखर आयात भएको थियो ।

     


    प्रतिक्रिया दिनुहोस