काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहदरबारभित्र सेयर किनेबेचमा रोक लगाउने तयारी गरेको छ ।
कार्यालयभित्र सेयर कारोबारका लागि प्रयोग हुने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) अख्तियारले बन्द गराउन लागेको हो ।
कार्यालय समयमा सरकारी कर्मचारीले सेयर कारोबार गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत कार्यालय समयमा सिंहदरबारमा टीएमएस बन्द गराउने गरी पत्राचार गर्न लागेको हो । अख्तियार स्रोतका अनुसार भोलि यसबारे पत्राचार हुँदैछ ।
सिंहदरबारभित्र कर्मचारीहरु कार्यालय समयमा काम छाडेर सेयर किनेबेचमा तल्लिन भएपछि सरकारी काम प्रभावित बन्ने गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
कर्मचारी काम छाडेर सेयर कारोबारी बनेपछि सरकारको केन्द्रीय प्रशासनिक नियकाको कामको प्रभावकारितामा समेत असर गरेको छ । पछिल्लो समय सेयर बजार बढ्दा कमर्चारी मोबाइल, ल्यापटप र कम्युटरमा नेप्से र टीएमएस चलाएर बस्ने गरेको उजुरी छ ।