काठमाडौं । सेयर बजारमा भित्री कारोबार गरेको आरोपमा हाइड्रोविज्ञ ज्ञानेन्द्रलाल प्रधानमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान पूरा गरेको छ।
प्रधानले नेपाल हाइड्रो डेभलपर्समा अध्यक्ष हुँदा अवैध रुपमा सेयर बिक्री गरेर सम्पत्ति शुद्धीकरण गरेको भन्दै अनुसन्धान भएको हो । उनले आर्जन गरेको अवैध सम्पत्तिका विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरेको छ ।
विभागले अनुसन्धान सकेर सम्पत्ति शुद्धीकरण गरेको भन्दै सिफारिसहित सरकारी वकिलको कार्यालयमा राय पठाएको छ । अहिले विभागले पठाएको रायमाथि सरकारी वकिलको कार्यालयले अध्ययन गरिरहेको जनाएको छ ।
प्रधानले कानून विपरित २६ करोड ३३ लाख ५६ हजार ५५७ रुपैयाँको सेयर बिक्री गरेका छन् । अहिले विभागले अनुसन्धान गरेर प्रधान र उनको परिवारलाई ५२ करोड ६७ लाख १३ हजार ११४ रुपैयाँ जरिवानासहित सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गर्न कार्यालयलाई सिफारिस गरेको छ ।
प्रधान अध्यक्ष भएको समयमा श्रीमती विमला श्रेष्ठ प्रधानको नाममा कम्पनीको २०७८ साउन १४ गते ३० हजार ५०० कित्ता र अध्यक्षबाट राजीनामा दिएपछि २०७८ कात्तिक २९ गते १ लाख ५० हजार कित्ता, २०७८ पुस ५ गते ९७ हजार २५० कित्ता र २०७८ माघ २० गते १ लाख कित्ता गरी कूल ३ लाख ७७ हजार ७५० सेयर घरायसी नामसारी गरेको गरेर सोही सेयर धितोपत्रको दोस्रो बजार मार्फत बिक्री गरेको बोर्डका तहकिकात अधिकृतले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै प्रधानले कम्पनीको अध्यक्ष हुँदा नै छोरा चेतन प्रधानको नाममा २०७८ साउन १४ गते ३० हजार ५०० कित्ता, अध्यक्षबाट हटेपछि २०७८ असोज ५ मा ३२ हजार ९०६ कित्ता गरी ६३ हजार ६०४ कित्ता सेयर घरायसी नामसारी गरेको उल्लेख छ ।
प्रधानले अध्यक्ष भएको समयमा अविवाहित छोरी निभिता प्रधानको नाममा २०७८ साउन १४ गते ३० हजार ५०० कित्ता र २०७८ असोज ५ गते ३२ हजार ९०६ कित्ता गरी ६३ हजार ६०४ कित्ता नामसारी गरेको पाइएको छ ।