काठमाडौं । रातको समयमा विशेषगरी घरबाहिर बालिने बत्तीको चहकिलो कृत्रिम प्रकाशमा धेरैबेर बसिरहँदा ६५ वर्षमुनिका व्यक्तिमा अल्जाइमर्स रोगको जोखिम बढ्ने हालै आएको एउटा नयाँ अनुसन्धानले देखाएको छ।
यो अनुसन्धान अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थको अनुदानमा गरिएको थियो भने गत शुक्रबार यसको प्रतिवेदन फ्रन्टियर्स इन न्यूरोसाइन्स नामक जर्नलमा प्रकाशित भएको थियो।
अनुसन्धानका क्रममा आफूले अमेरिकाका केही क्षेत्रमा रातको समयमा अत्यधिक कृत्रिम प्रकाश प्रयोग हुने गरेको र तिनै क्षेत्रमा अल्जाइमर्सका बिरामीको सङ्ख्या पनि बढी रहेको पाएको यसका अनुसन्धाताले बताएका छन्।
‘सडक बत्ती तथा विभिन्न प्रकारका प्रकाशयुक्त साइनबोर्डहरुले अपराध घटाउन, सडक सुरक्षित बनाउन तथा दृश्य परिदृश्य सुन्दर बनाउन मद्दत पुर्याउँछन् तर यस्ता एकोहोरो रुपमा उपलब्ध प्रकाशहरुले पर्यावरणीय, व्यवहारजन्य तथा स्वास्थ्यसम्बन्धी जोखिम बढाउने गर्दछन्’, उनीहरु भन्छन्।
यो अध्ययनका लागि ती अनुसन्धानकर्ताले अमेरिकाको राज्य र काउन्टीमा सन् २०१२ देखि २०१८ सम्म रातिको प्रकाशको औसत गहनताका आधारमा अल्जाइमर्स रोगको उपस्थितिको आँकडालाई विश्लेषण गरेका थिए।
अन्तर्राष्ट्रिय समाचार संस्था द गार्जियनले उल्लेख गरे अनुसार यो अध्ययनका लागि स्याटलाइटको माध्यमबाट प्राप्त प्रकाश प्रदूषणको तथ्याङ्क तथा अल्जाइमर्स रोगीहरुको सङ्ख्याका लागि मेडिकेयरबाट प्राप्त रिपोर्टलाई प्रयोग गरिएको थियो।