बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौंमा डेंगीको संक्रमण बढ्यो, २३ दिनमै ५ हजार बढीमा डेंगी


    हुलाक प्रेस

    • बिहीबार , असोज १० २०८१०८:३८
    काठमाडौंमा डेंगीको संक्रमण बढ्यो, २३ दिनमै ५ हजार बढीमा डेंगी

    काठमाडौं । सन् २०२४ को नौ महिनामा (जनवरीदेखि सेप्टेम्बरसम्म) सबैभन्दा धेरै डेंगी संक्रमित थपिएका छन् । सेप्टेम्बरमा काठमाडौंमा पनि संक्रमण बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ । तर, संक्रमण उच्च भएर अवस्था भयावह भने नबनेको ईडीसीडीले जनाएको छ । 

    यो वर्ष जनवरीयता सेप्टेम्बरमा सबैभन्दा धेरै डेंगी संक्रमित थपिएका छन् । १ सेप्टेम्बरदेखि २३ सम्म पाँच हजार ७८० जना संक्रमित थपिएका छन् । डेंगी संक्रमितको संख्या पछिल्ला तीन महिनायता उकालो लागेको हो ।

    जुलाईअघि मासिक रूपमा संक्रमित हुनेको संख्या एक हजारभन्दा कम थियो । जुलाईमा एक हजार १३१, अगष्टमा चार हजार २४४ हुँदै सेप्टेम्बरका २३ दिनमा ( १ देखि २३ सेप्टेम्बरसम्म) पाँच हजार ७८० संक्रमित छन् । योसँगै देशभर डेंगी संक्रमितको संख्या १२ हजार ६४४ पुगेको छ । डेंगी संक्रमण सबैभन्दा धेरै यिनै तीन महिनामा बढ्ने गरेको ईडीसीडीको रेकर्डले देखाउँछ । 

    अगष्ट सेप्टेम्बरमा सबैभन्दा धेरै संक्रमित 
    गत वर्षहरूमा पनि जुलाईदेखि सेप्टेम्बरसम्म संक्रमण उच्च भई अक्टोबरपछि ओरालो लागेको ईडीसीडीको तथ्यांक छ । सन् २०२३ को अगष्टमा सबैभन्दा धेरै १४ हजार ५३२ जना संक्रमित भएका थिए । त्यसपछि क्रमशः संक्रमण घट्दै गई सेप्टेम्बरमा १३ हजार ५४७, अक्टोबरमा १२ हजार ४८८, नोभेम्बरमा २१२२ को संख्यामा झरेको थियो ।

    सन् २०२२ को सेप्टेम्बरमा पनि सबैभन्दा धेरै संक्रमित देखिएको तथ्यांक छ । ईडीसीडीका अनुसार सो वर्ष सेप्टेम्बरमा २७ हजार ५२९ पुगेको थियो । अगष्टमा यो संख्या तीन हजार ७०८ मा सीमित थियो । सो वर्ष अक्टोबरमा १७ हजार ८८९ जना संक्रमित भई नोभेम्बरमा पाँच हजारभन्दा कम भएको थियो । 

    हालसम्मको रेकर्डले अगष्ट र सेप्टेम्बरमा नै सबैभन्दा धेरै डेंगी संक्रमित भएको देखाएको छ । यी दुई महिनामा लामखुट्टेको वृद्धि विकास बढी हुने भएकाले पनि अन्य महिनाको तुलनामा संक्रमण बढ्ने गरेको ईडीसीडीका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् । 


  • सम्बन्धित विषय:

  • # डेंगु संक्रमण
  • प्रतिक्रिया दिनुहोस