बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिसको गृहकार्य अन्तिम चरणमा


    हुलाक प्रेस

    • मंगलबार, मंसिर ५ २०८०१०:५३
    सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिसको गृहकार्य अन्तिम चरणमा

    काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा ठूलो संख्यामा न्यायाधीश सिफारिसको गृहकार्य अन्तिम चरणमा पुर्‍याएको छ ।

    लामो समयदेखि सर्वोच्च अदालतका न्यायाधीशको नाम सिफारिस गर्न नसकेको परिषद्ले सम्भवतः मंगलबार नै न्यायाधीशहरुको सिफारिस गर्नेछ । ‘विभिन्न कारणले न्यायाधीशहरुको नाम सिफारिसमा ढिलाइ भइरहेको छ, सम्भवतः मंगलबार रिक्त पदहरुमा न्यायाधीशहरुको नाम सिफारिस हुनेछ,’ न्यायपरिषद् स्रोतले भन्यो, ‘एकाध विषयमा पदाधिकारीबीच मतभेद छन् । फरक मत राखेरै प्रक्रिया अघि बढाउने वा एउटा पद यत्तिकै राखेर ६ जनाको सिफारिस गर्ने, मंगलबार नै तय हुनेछ ।’

    केही महिनाअघि न्यायाधीश विनोद शर्माको नियुक्तिलाई अपवाद मान्ने हो भने २०७८ जेठपछि सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस हुन सकेको छैन । हाल सर्वोच्च अदालतमा एक तिहाइ न्यायाधीश रिक्त छन् । २१ मध्ये ७ न्यायाधीश रिक्त भएकाले १४ जना न्यायाधीशले मात्रै नियमित काम गरिरहेका छन् । सोमबार अनौपचारिक रुपमा छलफलमा बसेका न्यायपरिषद्का सदस्यहरुले करिबकरिब नामावली टुंग्याएको र केही सामान्य मतभेदमात्रै समाधान गर्न बाँकी रहेको स्रोतले बतायो ।


    प्रतिक्रिया दिनुहोस