एजेन्सी । टिकटकले सयौं कर्मचारी हटाउने जनाएको छ । आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिलाई बलियो बनाउन कर्मचारीहरु कटौती गर्न लागेको टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले जनाएको हो ।
तर कुन देशमा कति कर्मचारी हटाउने भन्ने विषयमा टिकटकले विस्तृतमा उल्लेख गरेको छैन । बाइटडान्सका अनुसार विभिन्न देशका २ सय भन्दा धेरै सहरमा टिकटकका १ लाख १० हजारभन्दा धेरै कर्मचारी छन् ।
कर्मचारी कटौतीको सन्दर्भमा नेपालमा हटाउने वा नहटाउने भन्ने विषयमा पनि टिकटकले ठोस रुपमा जानकारी दिएको छैन । टिकटकबारे जानकारहरुले भने कम्पनीले विभिन्न देशबाट मार्केटिङ र कन्टेन्ट मोडरेसन विभागमा कार्यरत कर्मचारीहरुलाई हटाउने दाबी गर्दै आएका छन् ।
यसैबीच मलेसियामा मात्रै ५ सय कर्मचारीले रोजगारी गुमाउन सक्ने बताइएको छ । टिकटक प्रतिनिधिहरुले कन्टेन्टलाई प्रभावकारी बनाउन यस्तो योजना ल्याइएको जनाएका छन् ।
विश्वभर सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जाल टिकटकले विश्वभर राम्रो आम्दानी गरे पनि अमेरिकाका कतिपय राज्यसहित कैयौं देशहरुमा प्रतिबन्धित नै छ । विशेषगरी कतिपय देशहरुले बालबालिका र किशोरकिशोरीलाई टिकटक प्रयोगमा प्रतिबन्ध लगाएका छन् ।