काठमाडौं । चिनियाँ कम्पनी रोबट ईराले एउटा नयाँ ह्युम्यनोइड अर्थात् मान्छेजस्तै देखिने रोबोट प्रदर्शन गरेका छन् । जसले ८ माइल प्रति घण्टाभन्दा बढीको उच्चतम गति- ठीक ३.६ मिटर प्रति सेकेन्डमा दौडन सक्छ। यो यस प्रकारको अहिलेसम्मको सबैभन्दा छिटो चल्ने मेसिन हो, यद्यपि यो गति अतिरिक्त फुटवेयर को सहयोगमा मात्र प्राप्त भएको थियो ।
STAR1 नाम दिइएको यो दुई खुट्टाले मानिसजस्तै गरी हिँड्ने रोबोट हो जुन चिनियाँ कम्पनी रोबोट ईराले निर्माण गरेको हो । यो रोबोट ५ फिट ७ इन्च (१७१ सेन्टिमिटर) अग्लो छ र यसको तौल १४३ पाउन्ड (६५ किलोग्राम) छ । जुन खबर लाइभसाइन्सले प्रकाशित गरेको छ ।
केउमर्स अफीफ सबेटले लाइभसाइन्सका लागि लेखेको उक्त रिपोर्ट अनुसार एउटा प्रवर्धनात्मक भिडियोमा टोलीले दुईवटा STAR1 रोबोटहरूलाई चीनको उत्तरपश्चिमी भागमा रहेको गोबी मरुभूमिमा एकअर्कासँग प्रतिस्पर्धा गराएको र छिटो दौडने परीक्षण गर्नका लागि एउटा मोडेललाई दौडाउनका लागि जुत्ता लगाइदिएको उल्लेख छ ।
उच्च-टर्क मोटर र कृत्रिम बुद्धिमत्ता अर्थात् एआई एल्गोरिदमद्वारा सञ्चालित यो जुत्ता लगाएको STAR1 रोबोटले विभिन्न प्रकारका भूभागहरू, जस्तै घाँसे मैदान, गिट्टी, पिच बाटो र जमिनमा सफलतापूर्वक दौडिरहेको थियो र आफ्नो उच्चतम गति ३४ मिनेटसम्म कायम राख्न सफल भएको थियो ।
८ माइल प्रति घण्टाको शीर्ष गति हासिल गर्दा STAR1 ले युनिट्रीको H1 रोबोटलाई पछि पार्यो । जसले मार्च २०२४ मा ३.३ सेकेण्ड प्रति सेकेण्ड अर्थात् ७.४ माइल प्रतिघण्टाको गति कायम गरेर दुई खुट्टामा हिँड्ने रोबोटको गतिमा रेकर्ड बनाएको थियो । यद्यपि STAR1 ले जुत्ताको सहयोग लिएको थियो, H1 भने प्रविधिक रूपमा दौडिरहेको थिएन किनकि यसको खुट्टा ट्रान्जिटको क्रममा एकैचोटि जमिनबाट उचालिएको थिएन ।
रोबोट ईरा को वेबसाइटका अनुसार STAR1 एआई हार्डवेयरबाट सञ्चालित छ, जसको प्रशोधन शक्ति प्रति सेकेन्ड २७५ ट्रिलियन अपरेसन (टीओपीएस) रहेको छ। यो धेरै उत्कृष्ट ल्यापटपहरूमा पाइने एआई प्रशोधन क्षमताभन्दा धेरै उच्च हो जुन सामान्यतया ४५ देखि ५५ टीओपीएसको बीचमा हुन्छ । यो रोबोटमा १२ डिग्रीको स्वतन्त्रता अर्थात् डिग्रीज अफ फ्रीडम पनि छ जसले यसका जोर्नीहरूको संख्या र यसले गर्न सक्ने गतिविधिहरूको विविधतालाई जनाउँछ ।
STAR1 पछिल्लो महिनाहरूमा विश्वभरका कम्पनीहरूले प्रस्तुत गरेका धेरै ह्युम्यनोइड रोबोटमध्ये एक हो । तिनीहरुमा टेस्लाको अप्टिमस जेन-२, एआईद्वारा सञ्चालित रोबोट र बोस्टन डाइनामिक्सको नयाँ एटलस पनि समावेश छन् ।