बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्री पौडेलको निर्णय


    हुलाक प्रेस

    • आइतबार, कात्तिक ११ २०८१०५:५६
    १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्री पौडेलको निर्णय

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार उनले सरकारी अस्पतालहरू– कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यस्तो सेवा निःशुल्क गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।

    मन्त्री पौडेलको सचिवालयका अनुसार, आउँदो मंसिर १ गतेदेखि उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको छ । राज्यको सामर्थ्यका आधारमा धेरै धनराशि खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति छ ।

    मन्त्री पौडेलले पदबहालीलगत्तै क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थालेका थिए । हाल यो व्यवस्था बालबालिकाबाट सुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

    नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ । ती बालबालिकालाई परिवारको आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिन र समयमै उपचार गरेर ज्यान बचाउन उपचार निःशुल्क बनाउने निर्णय गरिएको मन्त्री पौडेलले बताए ।

    “समयमै उपचार गर्न सकिए बालबालिकाको क्यान्सर निको गर्न सकिन्छ,” उनले भने, “तर, आर्थिक अभावमा कोही पनि परीक्षण र उपचारबाट वञ्चित नहोऊन् भनेर निःशुल्क बनाउने निर्णय गरेका हौँ ।”


    प्रतिक्रिया दिनुहोस