काठमाडौं । बेलायती स्टार्टअपले २०३० सम्ममा आइसल्यान्डका मानिसहरूलाई अन्तरिक्षबाट सौर्य ऊर्जा उपलब्ध गराउने योजना बनाएको छ । जसले संसारमा यो नयाँ नवीकरणीय ऊर्जाको पहिलो उदाहरण हुनसक्छ ।
स्पेस डटकमका अनुसार यो स्पेस सोलार पावर प्रोजेक्ट अक्टोबर २१ मा घोषणा गरिएको थियो । यो बेलायतको कम्पनी स्पेस सोलार, रेक्जाविक इनर्जी र आइसल्यान्डको दिगोपन पहल ट्रान्जिशन ल्याब्सबीचको साझेदारी हो ।
यो परियोजनाले सन् २०३० सम्ममा एक डेमोन्स्ट्रेटर स्याटेलाइट प्रक्षेपण गर्ने लक्ष्य राखेको छ । जसले पृथ्वीमा ३० मेगावाट सफा ऊर्जा पठाउनेछ — जुन ३,००० घरलाई आपूर्ति गर्न पर्याप्त हुने बताइएको छ ।
ऊर्जा पठाउने स्याटेलाइटको तौल ७०.५ टन (६४ मेट्रिक टन) हुनेछ र यसले १,३१२ फिट (४०० मिटर) चौडाइ ओगट्नेछ (सोलार एरेसहित)। यो स्याटेलाइटले पृथ्वीको माध्यमिक कक्षमा (१,२४१ माइलदेखि २२,००० माइल) परिक्रमा गर्नेछ ।
सन् २०३६ सम्ममा साझेदारहरूले ६ वटा यस्ता स्पेस सोलार पावर स्टेसनहरूको समूह बनाउने लक्ष्य राखेका छन् । जसले मौसमको प्रभाव बिना नै २४/७ गिगावाट स्तरको सफा ऊर्जा पृथ्वीमा उपलब्ध गराउनेछ। २०४० को दशकको मध्यसम्ममा, स्पेस सोलारका कक्षमा रहेका ऊर्जा केन्द्रहरूले १५ गिगावाट भन्दा बढी ऊर्जा उपलब्ध गराउन सक्छन् ।
स्पेस सोलारका अनुसार यो पाइलट प्लान्टको विकास र निर्माणमा ८० करोड डलर खर्च हुनेछ। यो प्रणालीले परमाणु ऊर्जाको एक चौथाइ लागतमा प्रति गिगावाट २.२५ बिलियन डलरमा बिजुली प्रदान गर्नेछ । जसले यसलाई पृथ्वीको सतहमा रहेका अन्य नवीकरणीय स्रोतहरूसँग प्रतिस्पर्धी बनाउनेछ ।
पृथ्वीमा भएका सौर्य प्यानल र पवन टर्बाइनहरूको विपरीत अन्तरिक्षमा रहेका ऊर्जा केन्द्रहरूले दिनको कुनै पनि समयमा र मौसमको प्रभाव बिना नै निरन्तर बिजुली उत्पादन गर्न सक्ने स्पेस डटकमले उल्लेख गरेको छ ।