बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक १३ २०८१०९:०४
    नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय

    काठमाडौं । नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ । 

    डेंगीका भाइरसका स्वरुप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए ।  

    विगत सात वर्षअघि भने सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सेरोटाइप–४ सक्रिय रहेका थिए । “भाइरसको जीन अध्ययन गर्दा अहिले तीन प्रकारका भाइरसका स्वरुप सक्रिय रहेको पाइएको छ,” उनले भने । शाखाका प्रमुख डा. दाहालका अनुसार कात्तिकसम्म लामखुट्टे सक्रिय हुने भएकाले जोखिम हुने बताए । उनले कात्तिकपछि जाडो  बढ्ने र त्यसपछि डेंगी सार्ने लामखुट्टे पनि हराउँदै जाने बताए ।  

    डेंगी संक्रमण हुम्लाबाहेक सबै जिल्लामा देखिएको छ । यस्तै, देशभर २७ हजार १५३ जनामा डेंगी संक्रमण देखिएको छ भने संक्रमणको कारणले अहिलेसम्म ११ जनाको निधन भइसकेको छ । 

    सबैभन्दा बढी कास्कीमा सात हजार ८० जनामा डेंगी संक्रमण देखिएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस्’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेंगी रोग लाग्दछ । 

    उपत्यकामा डेंगी संक्रमण पाँच हजार ७४८ जनामा देखिएको छ । काठमाडौंमा चार हजार ६० जना,  भक्तपुर ६२८ र ललितपुर एक हजार ६० जनामा डेंगी संक्रमण देखिएको छ । 

    वर्षाको बेला पानीका संकलन गरेर राख्ने, संकलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगीको संक्रमण बढेको हो । 

    डेंगी रोगको संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सचालन गर्न निर्णय सरकारले गरेको छ । रासस


    प्रतिक्रिया दिनुहोस