बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • यी १० कम्पनी जसले प्रत्येक वर्ष लाभांश दिइरहेछन्


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक २० २०८१०८:३८
    यी १० कम्पनी जसले प्रत्येक वर्ष लाभांश दिइरहेछन्

    काठमाडौं । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमध्ये अहिले युनिलिभर नेपाल, राष्ट्रिय बिमा कम्पनी, बोट्लर्स नेपाल (बालाजु), बोट्लर्स नेपाल (तराई) र साल्ट ट्रेडिङ कर्पाेरेसनको सेयरमूल्य उच्च छ । यी कम्पनीको सेयरमूल्य पाँचहजार रुपैयाँभन्दा बढी छ । युनिलिभर नेपालको सेयरमूल्य प्रतिकित्ता ४८ हजार रुपैयाँ छ ।

    महँगो सेयरमूल्य भएका अधिकांश कम्पनीले प्रत्येक वर्ष सेयरधनीलाई लाभांश दिइरहेका छन् । नियमित लाभांश दिनेमा युनिलिभर नेपालले सबैभन्दा बढी दिइरहेको छ । यस कम्पनीले प्रत्येक वर्ष लगानीकर्तालाई नगद लाभांश दिँदै आएको छ । २०७१/७२ सालयता यस कम्पनीले १०० देखि १,७१४ प्रतिशतसम्म लाभांश दिएको छ ।

    त्यसैगरी, नेपाल टेलिकमले प्रत्येक वर्ष उच्चदरमा नै लाभांश दिँदै आएको छ । यो कम्पनीले १० वर्षको अवधिमा ४० देखि ५५ प्रतिशतसम्म लाभांश दिएको छ । यो वर्षका लागि भने कम्पनीले लाभांश घोषणा गरेको छैन । हाल यो कम्पनीको दोस्रो बजारमा प्रतिसेयरमूल्य ९८० रुपैयाँ छ । यो कात्तिक १४ गतेको मूल्य हो ।

    यीबाहेक १० वर्षदेखि उच्चदरमा लाभांश दिनेमा एभरेस्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, साल्ट ट्रेडिङ कर्पाेरेसन, नागरिक लगानी कोष, नबिल बैंक, चिलिमे हाइड्रो पावर, बोटलर्स नेपाल (तराई) र सोल्टी होटेल लिमिटेड छन् ।

    यी कम्पनीहरूले पछिल्लो १० वर्षमा १० देखि १०५ प्रतिशतसम्म लाभांश दिएका छन् । बोटलर्स नेपाल (तराई) र सोल्टी होटेलले भने बीचका वर्षहरूमा लाभांश दिएका छैनन् । तर, त्यसपछि भने उच्च दरमा लाभांश दिएका छन् ।

    २०७८/७९ र २०७९/८० मा बोट्लर्स (नेपाल)ले ६० प्रतिशतका दरले सेयरधनीलाई लाभांश दिएको थियो । त्यसैगरी, सोल्टी होटेलले पनि आर्थिक वर्ष २०७८/७९ मा २६.३२ प्रतिशत र आर्थिक वर्ष २०७९/८० मा ३१.५८ प्रतिशत लाभांश दिएको थियो । चालु आर्थिक वर्ष २०८०/८१ का लागि कम्पनीले ३६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ ।

     


    प्रतिक्रिया दिनुहोस