काठमाडौं । सोनीले क्यालिफोर्नियाको एस्ट्रो डिजिटलसँग साझेदारी गरेर दुईवटा साना स्याटलाइटबाट लेजर कम्युनिकेशन परीक्षण गर्ने योजना बनाएको छ । यसका लागि जापानी कम्पनीले सीडी प्लेयरको लागि विकास गरेको अप्टिकल डिस्क टेक्नोलोजी प्रयोग गरिनेछ ।
कम्पनीहरूले नोभेम्बर १२ मा दिएको प्रेस विज्ञप्ति अनुसार यी दुई स्याटलाइटहरू एस्ट्रो डिजिटलको कोर्भस स्याटलाइट प्लेटफर्ममा आधारित हुनेछ र २०२६ मा प्रक्षेपणको लागि तयार हुनेछन् ।
प्रत्येक स्याटलाइटमा सोनी स्पेस कम्युनिकेशन्स कर्पोरेशन एसएससीसीबाट लेजरकम अप्टिकल टर्मिनल लगाइनेछ । एसएससीसी क्यालिफोर्नियामा आधारित सोनीको सहायक कम्पनी हो, जसले २०२२ मा आफ्नो प्रविधिलाई व्यवसायिक बनाउन स्थापना गरिएको हो ।
यसअघि एसएससीसीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन र जापानको ग्राउन्ड स्टेशन बीच परीक्षण गरिसकेको छ । स्पेसन्युजका अनुसार एसएससीसीको उद्देश्य उच्च डाटा-रेट अप्टिकल लिंकको परीक्षण गर्नु हो, जसमा स्याटलाइट र ग्राउन्ड स्टेशन बीच र आपसमा लो अर्थ अर्बिटमा कम्युनिकेशन हुनेछ ।