बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पश्चिमी क्षेत्रबाट मौसममा फेरि बदली सुरु, हिमपात र हल्का बर्षाको संभावना


    हुलाक प्रेस

    • आइतबार, पुस २८ २०८११०:१०
    पश्चिमी क्षेत्रबाट मौसममा फेरि बदली सुरु, हिमपात र हल्का बर्षाको संभावना

    काठमाडौँ । मुलुकको पश्चिमी क्षेत्रबाट मौसममा फेरि बदली सुरु भएको छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले यतिखेर पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रको माथिल्लो भूभागबाट बदली सुरु भइसकेको बताउँदै क्रमशः फैलिने क्रममा रहेको जानकारी दिइन् ।

    उनका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण यसरी बदली सुरु भएको हो । आइतबार दिउँसोपछि मध्य तथा पूर्वी नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली हुने मौसमविद् महर्जनले बताइन् ।

    आइतबार सबै प्रदेशका उच्च र हिमाली क्षेत्रमा हिमपात हुने बताउँदै मौसमविद् महर्जनले दिउँसोतिर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिइन्।

    महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।


    प्रतिक्रिया दिनुहोस