काठमाडौं । आज (बुधबार) राति देशको पश्चिम क्षेत्रमा पश्चिमी न्यूनचापीय प्रणाली भित्रिने र त्यसको प्रभावले बिहीबार रातिसम्म हिमपात र वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहिबार रातिसम्म कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ। शुक्रबारदेखि मात्र मौसममा सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।