बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • चीनको शेन्झोउ-१९ का अन्तरिक्षयात्रीहरुले अन्तरिक्षमै यसरी गरे रकेट इन्धन र अक्सिजन उत्पादन


    हुलाक प्रेस

    • आइतबार, माघ २० २०८१०९:०९
    चीनको शेन्झोउ-१९ का अन्तरिक्षयात्रीहरुले अन्तरिक्षमै यसरी गरे रकेट इन्धन र अक्सिजन उत्पादन

    काठमाडौं । चिनियाँ अन्तरिक्ष यात्रीहरूले नयाँ प्रकारको “कृत्रिम प्रकाश संश्लेषण” प्रयोग गरेर अन्तरिक्षमै रकेट इन्धन र अक्सिजन उत्पादन गरेका छन्। सामान्य उपकरण र न्यून ऊर्जा प्रयोग भएको यो प्रविधि एक दिन चीनको प्रस्तावित मून बेस आधारमा प्रयोग गर्न सकिने विश्वास गरिएको छ। यो मून बेस आगामी एक दशकभित्र सम्पन्न हुने तालिकामा छ।

    यी नयाँ प्रयोगहरू शेन्झोउ-१९ को चालक दलले चीनको तियाङगोङ (अर्थात् “स्वर्गीय महल”) अन्तरिक्ष स्टेशनमा सम्पन्न गरेका हुन्, जुन नोभेम्बर सन् २०२२ देखि पृथ्वीको नजिकैको कक्षमा पूर्ण रूपमा सञ्चालनमा छ।

    इन्ट्रेस्टिङ इन्जिनियरिङका अनुसार सन् २०१५ बाट विकास भइरहेको यो कृत्रिम प्रकाश संश्लेषण प्रविधिले कार्बन डाइअक्साइड र पानीलाई अक्सिजन र रकेट इन्धनका तत्वहरूमा रूपान्तरण गर्छ। यसमा एउटा साधारण “ड्रअर अर्थात् घर्राजस्तो” उपकरण र “सेमिकन्डक्टर उत्प्रेरक” प्रयोग गरिएको छ। यो प्रक्रिया वनस्पतिमा हुने प्राकृतिक प्रकाश संश्लेषणसँग मिल्दोजुल्दो छ, तर यसमा ग्लुकोजको सट्टा रकेट इन्धन उत्पादन गरिन्छ।

    यस प्रक्रियामा अन्तरिक्ष यात्रीहरूले इथिलिन नामक हाइड्रोकार्बन उत्पादन गरे, जुन रकेट इन्धनको रूपमा प्रयोग गर्न सकिन्छ। तर यो प्रतिक्रियामा विभिन्न उत्प्रेरक प्रयोग गरेर मिथेन उत्पादन गर्न सकिने विश्वास गरिएको छ, जुन इन्धनका लागि उपयोगी हुन्छ।

    साथै, फर्मिक एसिड उत्पादन गर्न सकिन्छ, जसलाई संरक्षक, जीवाणुरोधी तत्व, वा चिनी बनाउने लागि कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिने लाइभसाइन्सले उल्लेख गरेको छ।

    “यो प्रविधिले हरियो वनस्पतिको प्राकृतिक प्रकाश संश्लेषण प्रक्रियालाई भौतिक र रासायनिक विधिहरूमार्फत नक्कल गर्छ। यो सीमित ठाउँ वा बाह्य अन्तरिक्षको वायुमण्डलमा कार्बन डाइअक्साइड स्रोतको उपयोग गरेर अक्सिजन र कार्बन-आधारित इन्धन उत्पादन गर्न प्रयोग गरिन्छ,” जनवरी १९ मा चिनियाँ राज्य टेलिभिजन च्यानल सीसीटीभीले रिपोर्ट गरेको थियो।

    “यो प्रविधिले अन्तरिक्षमा मानव अस्तित्व र अन्वेषणका लागि महत्त्वपूर्ण प्राविधिक सहयोग प्रदान गर्ने अपेक्षा गरिएको छ।”

    अनुसन्धानकर्ताहरूले यो प्रविधिको विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। तर, यो प्रविधिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा पानीबाट अक्सिजन उत्पादन गर्न प्रयोग गरिने इलेक्ट्रोलाइसिस प्रविधिको तुलनामा निकै कम ऊर्जा आवश्यक पर्ने बताइएको छ।

    साउथ चाइना मर्निङ पोस्टका अनुसार इलेक्ट्रोलाइसिसले आईएसएसको कुल ऊर्जा उत्पादनको एक तिहाइसम्म उपयोग गर्ने सन् २०२३को अध्ययनले देखाएको छ।

    तियाङगोङ अन्तरिक्ष स्टेशनमा गरिएको यो नयाँ परीक्षण हालसम्मका थुप्रै प्रयोगहरू मध्ये एक हो। यसअघि यहाँ साग र टमाटर उमार्ने र पहिलो पटक अन्तरिक्षमा सलाई बाल्ने प्रयोग गरिएका थिए।

    चीनको मून बेस
    यो नयाँ प्रविधि चीनको प्रस्तावित मून बेसमा प्रयोग गर्न सकिन्छ जुन सन् २०३५ सम्ममा चन्द्रमाको दक्षिणी ध्रुव नजिकै निर्माण गरिने योजना छ। यस प्रविधिले चन्द्र उपनिवेशकर्ताहरूलाई चन्द्रमामै अक्सिजन र रकेट इन्धन उत्पादन गर्न सक्षम बनाउनेछ।

    लाइभसाइन्सका अनुसार यसका लागि चन्द्रमामा पहिले नै भएको पानी प्रयोग गर्न सकिनेछ। यसले पृथ्वीबाट यी स्रोतहरू लैजानुपर्ने आवश्यकता घटाउनेछ र यसले मंगल ग्रह तथा अन्य संसारहरूमा यात्रा गर्न सजिलो बनाउन सक्छ।

    मार्च सन् २०२४ मा चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले यो आधारको लागि ऊर्जा प्रदान गर्न मिनी आणविक रिएक्टर निर्माण गर्न रोबोटहरूको प्रयोग गर्ने योजना सार्वजनिक गरेको थियो। यो योजना रसियासँगको सहकार्यमा प्रस्ताव गरिएको हो। रसियाले आधारको केही भाग चीनसँग साझेदारी गर्ने र यसको निर्माणमा सहयोग गर्ने आशा गरिएको छ।

    यो आधार निर्माणका लागि चीनले २०३० सम्ममा अन्तरिक्ष यात्रीहरूलाई चन्द्र सतहमा अवतरण गराउने योजना बनाएको छ। यसअघि, नासाको आर्टेमिस मिसनले सन् २०२६ सम्ममा मानिसलाई चन्द्रमामा पुनः पठाउने लक्ष्य राखेको छ। तर आर्टेमिस मिसनहरू बारम्बार ढिला भइरहेका छन्।

    चीनले चन्द्र आधारका लागि आवश्यक सामग्रीहरू लैजान एक प्रकारको ठूला पुनःप्रयोग गर्न मिल्ने रकेट विकास गरेको छ। यो रकेट यसै वर्ष पहिलो पटक प्रक्षेपण गरिने तालिकामा छ।


    प्रतिक्रिया दिनुहोस