बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • खुम्चिदै एनआईसी एशिया बैंक, २ अर्ब ६६ करोड घाटामा


    विद्या राजपुत

    • बिहीबार , फागुन १ २०८११०:२७
    खुम्चिदै एनआईसी एशिया बैंक,  २ अर्ब ६६ करोड घाटामा

    काठमाडौं । एनआईसी एशिया बैंक साढे २ अर्ब रुपैयाँभन्दा बढीले घाटामा गएको छ । आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ५३ करोड ४२ लाख रुपैयाँले नाफामा रहेको बैंक आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ६६ करोड ६९ लाख रुपैयाँले घाटामा गएको हो।

    नियामक नेपाल राष्ट्र बैंकले १ अर्ब ४ करोड २४ लाख ८५ हजार रुपैयाँ प्रोभिजन थपेपछि बैंक सञ्चित नोक्सानी (घाटा)मा गएको हो ।

    बैंकले प्रकाशित गरेको लेखापरीक्षण हुन बाँकी रहेको २०८०/८१ को वित्तीय विवरणमा २ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ संभावित नोक्सानी व्यवस्थाका लागि छुट्याएको थियो । राष्ट्र बैंकले बैंकले छुट्याएको प्रोभिजनिङ ३६.६५ प्रतिशतले थप गरेर ३ अर्ब ८८ करोड ६८ लाख रुपैयाँ प्रोभिजनिङ पुर्याएको छ ।

    बाह्य लेखा परीक्षणपछिको नाफाभन्दा बैंकले प्रकाशित गरेको लेखापरीक्षण अघिको वित्तीय विवरणमा उल्लेख भएको नाफा ४९.२४ प्रतिशतले फरक परेको छ ।

    बैंकले १ अर्ब ३८ करोड १८ लाख नाफा भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । बाह्य लेखापरीक्षणपछि उक्त नाफा ४९.२४ प्रतिशतले घटेर ७० करोड १४ लाख ९७ हजार रुपैयाँमा खुम्चिएको छ ।

    बैंकले आगामी फागुन २२ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । घाटामा गएपछि बैंकले सेयरधनीलाई लाभांश दिन सकेन ।

    पुँजीकोषमा परेको दबाब कम गर्न बैंकले २७औं वार्षिक साधारणसभामा ५ अर्ब रुपैयाँको एनआइसी एसिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव लैजाँदैछ ।

    बैंकको अधिकृत पुँजी १४ अर्ब ९२ करोड रुपैयाँबाट वृद्धि गरी १९ अर्ब ९२ करोड रुपैयाँ पुर्याउने प्रस्ताव लैजाने भएको छ ।

    सभा प्रयोजनका लागि फागुन ८ गतेदेखि २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । फागुन ७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।




    प्रतिक्रिया दिनुहोस