काठमाडौँ । फिल्म ‘एक्टर’ र ‘एक्टरः टेक वान’ बिच फेरि विवाद सुरु भएको छ । यो पटक विवाद ‘एक्टर’ले नभएर ‘एक्टर : टेक वान’ले झिकेको हो ।
‘एक्टर : टेक वन’का निर्माताले अनुचित लाभ लिन खोजेको भन्दै काठमाडौँ जिल्ला अदालतमा ‘एक्टर’का निर्माताविरुद्ध मुद्दा दायर गरेका छन् । फिल्म रिलिज गर्न दिने भन्दै अनुचित प्रभावमा पारेर ‘एक्टर’का निर्माताले आफूबाट १५ लाखको चेक लिएको दायर मुद्दामा उल्लेख छ ।
‘एक्टर : टेक वन’को निर्माण कम्पनी अधृत फिल्मसको तर्फबाट दायर फिराद पत्रमा भनिएको छ , ‘अदालतबाट चलचित्र प्रदर्शनमा रोक लगाएको आदेश विपरित हामी फिरादकर्ताहरूसँग ‘एक्टर : टेक वन’ प्रदर्शन गर्न दिने भनी र प्रतिलिपि अधिकार हनन भयो भनी झुक्याइ, जालसाझी र अनुचित दबाबमा पारी क्षतिपूर्तिबापत भन्दै अनुचित रुपमा १५ लाख रुपैयाँको चेक लिएकाले अधृत फिल्मस प्रालिको चेकबाट खिचिएको १५ लाखको चेक समेत फट्टा (रद्द) गरी पाऊँ ।’
अदालतमा दायर मुद्दामा ‘एक्टर’ फिल्मको निर्माण कम्पनी नेपाली डायस्पोरा इन्टरटेनमेन्ट प्रालिलाई विपक्षी बनाइएको छ । दुवै फिल्मका निर्मातालाई चैत ६ गते मंगलबार छलफलका लागि उपस्थित हुन अदालतले आदेश दिएको छ ।
गत माघ १३ गते ‘एक्टर’का निर्माताले नाम चोरीको आरोपमा ‘एक्टर : टेक वन’विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । त्यसैको आधारमा अदालतले फिल्मको प्रदर्शन रोक्न आदेश दिएको थियो । फिल्मको प्रदर्शन नै रोकिएपछि ‘एक्टर : टेक वन’का निर्माताले ‘एक्टर’का निर्मातासँग सहमति गरेका थिए । त्यसपछि माघ १८ गतेदेखि फिल्म प्रदर्शनमा आएको थियो । तर, दुई पक्षबिच सहमति कसरी जुट्यो भन्ने खुलाइएको थिएन । सो समय ‘एक्टर’ले १५ लाखमा सहमति गरेको खुलेको हो ।