काठमाडौं । तपस्वी बनेर चर्चामा आएका रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ ।
सोमबार जिल्ला अदालतमा मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् सहायक जिल्ला न्यायाधिवक्ता नारायणप्रसाद घिमिरे बताए ।
बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा ८ करोड ५९ लाख रुपैयाँ बिगो कायम गरिएको छ । हाल उनी बाल यौन दुर्व्यवहारको कसुरमा दोषी ठहर भई कारागारमा कैद भुक्तान गरिरहेका छन् । जिल्ला अदालत, सर्लाहीले उनलाई बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ (३) 'छ' अनुसारको कसुर गरेको ठहर गरेको छ ।
दफा ६६ मा बालबालिकाविरूद्वका कसुरहरू उल्लेख गरिएको छ । उक्त दफाअन्तर्गत उपदफा (३) मा बाल यौन दुर्व्यवहार गरेको मानिने अवस्था किटान गरिएको छ । र, उपदफा (३) 'छ' मा यौन सन्तुष्टि प्राप्त गर्न बालबालिकालाई प्रयोग गर्ने वा गराउने कार्यलाई बाल यौन दुर्व्यवहार मानिएको छ ।
अदालतले उनलाई १० वर्ष कैदको सजाय तोकेको छ। पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि भएको थियो । एउटा अपराधमा सजाय भुक्तान गरिरहेका बम्जनविरुद्ध पुनः अर्को मुद्दा दर्ता भएको हो । बम्जनविरुद्ध चार जनालाई बेपत्ता बनाएको, एक जनाको हत्या गरेको र एक अनुयायीमाथि यौन हिंसा गरेको आरोपमा जाहेरी परेको थियो ।
२०८० सालको पुसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँको बूढानीलकण्ठस्थित एक घरबाट उनलाई पक्राउ गरेको थियो। त्यसअघि प्रहरीले लामो समयसम्म पक्राउको प्रयास गरे पनि असफल भएको थियो । पछिल्लोपटक तीन महिना पछ्याएर उनलाई पक्राउ गर्न सफल भएको थियो ।
बूढानीलकण्ठमा उनलाई पक्राउ गरेर घरमा खानतलासी लिँदा विभिन्न देशका मुद्रा फेला परेका थिए । उनको घरबाट सीआईबीले ३ करोड ३ लाख नेपाली रुपैयाँ र अरू १७ देशका मुद्रा ३० लाख ९२ हजार रूपैयाँबराबरका बरामद भएका थिए । उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको हो ।