बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कोटिहोम विवादः मेयर आचार्यले दिएको भ्याकेट निवेदनमा आदेश दिन अस्वीकार


    हुलाक प्रेस

    • सोमबार, फागुन १९ २०८१०८:५५
    कोटिहोम विवादः  मेयर आचार्यले दिएको भ्याकेट निवेदनमा आदेश दिन अस्वीकार

    काठमाडौं । पोखरामा कोटिहोम रोक्न मागसहित वारेसमार्फत उच्च अदालत पुगेका मेयर धनराज आचार्यको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    गत सोमबार मानव सेवा फाउन्डेसनले पोखराको लेकसाइडस्थित क्याम्पिङ चौर र नेपाल ट्रस्टमातहतको बाराहीघाटमा गर्न लागेको कोटिहोम रोक्न भन्दै मेयर आचार्यका तर्फबाट महानगरका कर्मचारी सोमनाथ लम्सालले अदालतमा निवेदन दर्ता गराएका थिए ।

    मानवसेवा फाउन्डेसनका संस्थापक विजय भण्डारीविरुद्ध उत्प्रेषण परमादेश मागसहित कोटिहोम नरोक्न उच्च अदालत पोखराले गरेको आदेश बदरको माग गरेका थिए ।

    यसअघि गत फागुन १ गते उच्च अदालत पोखराले कानुनी रूपमा बाधा पुग्ने कुनै कारणबाहेक अन्य कुनै पनि अवरोध सिर्जना नगर्न पोखरा महानगरपालिकालाई आदेश गरेको थियो ।

    उक्त आदेश एकपक्षीय रहेको भन्दै महानगरले उक्त आदेश बदर मागसहित उच्च अदालतमा निवेदन दर्ता गरेको थियो ।

    त्यो आदेश बेरितको भन्दै महानगर भ्याकेटमा गएको हो । महानगरले दर्ता गराएको ६ पन्ने निवेदनमा फेवाताल किनारमा आयोजना गर्न लागेको भनेको कोटिहोम विराट ज्ञान महायज्ञको सम्बन्धमा हालसम्म कुनै ठूलो र प्रभावग्राही तयारी नरहेको उल्लेख गरिएको थियो ।

    तर, न्यायाधीशद्वय दीपेन्द्र अधिकारी र उमेश कोइरालाको इजलासले पुरानै अन्तरिम आदेशलाई अन्यथा गरिरहनु नपर्ने आदेश गरेका हुन् । “प्रस्तुत रिट निवेदनमा लिखित जवाफ समेत प्राप्त भैसकेको देखिएको अवस्थामा विवाद भएको स्थान र विषयको सम्बन्धमा पूर्ण सुनुवाइ भइ अन्तिम निरुपण हुँदाका बखत विवेचना हुने प्रकृतिको देखिँदा हाललाई यस अदालतबाट जारी भएको मिति २०८१।११।०१ को अन्तरिम आदेशलाई अन्यथा गरिरहनु परेन,” आदेशमा भनिएको छ ।

    साथै, उच्चले रिटलाई अग्राधिकार दिन र छिटो पेसी तोक्न समेत भनेको छ ।

    महानगरपालिकाको ४२औँ कार्यपालिका बैठकले उक्त क्षेत्रमा कोटिहोम गर्न नदिने निर्णय गरेको थियो भने जग्गा उपलब्ध गराएको नेपाल ट्रस्टलाई पनि उक्त सहमति रद्द गर्न पत्र पठाउने निर्णय गरिएको थियो ।

    मानव सेवा फाउन्डेसनको पोखरा–८, शिवालय चोकमा कार्यालय छ । यसका संस्थापक विजय कृष्णमूर्ति भनिने विजय भण्डारीले आउँदो वैशाख १७ देखि जेठ २६ गतेसम्म विराट ज्ञान महायज्ञ तथा कोटिहोमको आयोजना गरेका हुन् ।

    नेपाल ट्रस्टले यही कोटिहोमको आयोजनाका लागि ट्रस्ट मातहत रहेको क्याम्पिङ चौर र बाराहीघाटको जग्गा उपलब्ध समेत गराइसकेको छ । त्यसका लागि आयोजकले भाडाबापत ११ लाख ५९ हजार रुपैयाँ समेत बुझाइसकेको छ ।

    स्वयम् वडा नं ६ को अनुमति, प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको मातहतमा रहेको पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र मेयर धनराज आचार्य गत पुस १६ गते आफैँले तोक लगाएर आयोजकको मागअनुसारको आदेश कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

    पोखरा महानगरपालिका वडा नं. ६ ले गत पुस ६ गते मानव सेवा फाउन्डेसनलाई लेकसाइडको क्याम्पिङ क्षेत्र र नेपाल ट्रस्ट मातहतको बाराहीघाटको जग्गामा कोटिहोम विराट ज्ञान महायज्ञको लागि अनुमति दिएको थियो । जग्गा भाडामा दिएबापत ३३ हजार ८७६ रुपैयाँ बुझाएको थियो ।

    महानगरसहित प्रदेशको पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले पनि पुस २१ मा सहमति दिएको थियो ।

    प्रदेश र पालिकाको सहमति पाइसकेपछि आयोजकले कोटिहोमका लागि समिधा (दाउरा) संकलनको काम सुरु गर्‍यो । समिधाका नाममा पोखराका १३, १४ र ६ मा ऐतिहासिक रुखहरू कटान भए । त्यसपछि नै कोटिहोमको विषयमा आयोजक र महानगरबिच टकराव बढेको हो ।

    समिधाका लागि महानगर आफैँले अनुमति दिएको थियो । तर, आलोचना बढेपछि महानगरले बोली फेर्दै अनुमति नदिइएको र कोटिहोम रोक्नका लागि जग्गा उपलब्ध गराएको ट्रस्टलाई सहमति रद्द गर्न कार्यपालिका निर्णय गर्दै पत्र पठाएको थियो । ट्रस्टले आफ्नो सम्पत्ति भाडामा लगाउन महानगरको अनुमति लिनुनपर्ने जवाफ दियो । त्यसपछि मेयर आचार्य आफैँ अदालत पुगेका थिए ।


    प्रतिक्रिया दिनुहोस