काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर ९ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्किएका छन् ।
नेपाली समयानुसार उनीहरू स्पेसएक्सको ड्र्यागन क्याप्सुलमार्फत बुधबार बिहान सबेरै पृथ्वीमा अवतरण गरेका हुन् ।
उनीहरूसहित निक हेग र रुसी अन्तरिक्ष यात्री अलेक्ज्यान्डर गोर्बुनोभ बोकेको क्याप्सुल फ्लोरिडाको तटनजिकै समुद्रमा खसेको हो । दुवैजना अन्तरिक्षयानबाट बाहिर निस्कँदाअनुहारमा मुस्कान थियो । उनीहरूलाई धर्ती आइपुग्न १७ घण्टा लाग्यो ।
उनीहरू सवार अन्तरिक्ष यान द्रुत रूपमा पृथ्वीको वायुमण्डलमा पुन: प्रवेश गर्यो र त्यसपछि चारवटा प्यारासुट खुले । त्यसपछि उनीहरू फ्लोरिडाको तटमा बिस्तारै अवतरण गरे ।
नासाको कमर्सियल क्रु प्रोग्रामका प्रबन्धक स्टिभ स्टिचले चालक दलका सदस्यको प्रशंसा गरे । सुनिता विलियम्स र बुच विल्मोर जुन ५, २०२४ मा परीक्षण वाहन स्टारलाइनरमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) तर्फ उडेका थिए ।
त्यहाँ आठ दिन बिताएपछि फर्कने तयारीमा रहेका उनीहरू प्राविधिक गडबडीका कारण ९ महिनासम्म अन्तरिक्षमै अलपत्र परेका थिए ।