नेपालकी मेनुका पौडेलले भारतीय फिल्ममा गीत गाउने मौका पाएकी छन् ।
'केजिएफ' निर्देशक प्रशान्त नीलले निर्देशन गरेको फिल्म 'सलार' मा गीत गाउन मेनुकाले अवसर पाएकी हुन् ।
हाल इन्डियन आइडल - १४ को प्रतिस्पर्धी पौडलले सो अवसर पाएको सोही मञ्चबाटै जानकारी दिएकी थिइन् ।
आइतबार राती प्रसारित 'इन्डियन आइडल' मा उनले सो कुरा खुलाउँदै भनेकी छन्, 'म आज निकै उत्साहित छु। किनकी मैले फिल्ममा गीत गाउने अवसर पाएकी छु। यो मेरो टर्निङ प्वाइन्ट हो। जहाँ मैले पहिलो प्लेब्याक गीत गाएकी छु। मेरो तर्फबाट निकै राम्रोसँग गाउने छु । '
आइतबार राती प्रसारित 'इन्डियन आइडल' मा मेनुकाले 'सलार' को लागि गीत गाएको भिडिओ क्लिप प्रसारण गरिएको थियो।
'सलार' को गीतमा रवि बसरूरले संगीत भरेका छन् । उक्त फिल्ममा दक्षिण भारतीय अभिनेता प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमारनलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।
इन्डियन आइडलको मन्चमा अडिसन राउन्ड देखिनै जजहरु मेनुका पौडेलको सुर र स्वरबाट प्रभावित बनेका थिए । उनको स्वरको तारिफ गरेर नथाक्ने जजहरु मध्य गायिका श्रेया घोषाल मेनुकाले पाएको अवसरमा खुसि हुँदै 'सलार' टिमलाइ धन्यबाद दिएकी थिइन् ।