काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण आज पनि खतरनाक तहभन्दा माथि छ । शुक्रबार बिहान नौ बजे ‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार काठमाडौँ उपत्यकाका वायु प्रदूषणमा विश्वमै पहिलो स्थानमा छ ।
यतिबेला वायु प्रदूषणको दृष्टिले भारतको राजधानी दिल्ली विश्वमै दोस्रो स्थानमा छ भने पाकिस्थानको कराँची तेस्रो स्थानमा छ। इन्डेक्सका अनुसार अहिले काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई ३५० छ । प्रदूषणमा पहिलो स्थानमा रहेको दिल्लीको एक्यूआई अहिले ३४३ छ ।
त्यसैगरि वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा रहेको कराँचीको एक्यूआई १६६ छ । चिकित्कसहरुले विगत केही दिनयता काठमाडौँको वायु मानव स्वास्थ्यको लागि हानिकारक तहमा पुगेको बताएका छन् ।
विगत लामो समयदेखि पानी नपर्दा काठमाडौँको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका विभिन्न जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको विज्ञहरुले बताएका छन् ।
स्वास्थ्य मन्त्रालयले नेपालको वायु विश्वकै अत्यधिक अस्वस्थकर सूचीको माथिल्लो स्थानमा रहेको भन्दै सजगता अपनाउन नागरिकलाई आग्रह गर्दै आएको छ ।
चिकित्सकहरुले यस्तो अवस्थामा साँझ र बिहानको समयमा सकेसम्म घर बाहिर ननिस्कन सुझाव दिएका छन् ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । तर ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ ।
५१ देखि एक सयसम्मको एक्यूआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केत दिइन्छ । एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआईलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्यूआइलाई अस्वस्थकर मानिन्छ ।
दुई सय एकदेखि तीन सय सयसम्मको एक्यूआईलाई अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चारसय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ । काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्यूआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ ।