बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आईपीओ निष्काशनमा धितोपत्र बोर्डले कमिसन मागेको भन्दै अख्तियारले छापा मारेर नियन्त्रणमा लियो फाइल


    हुलाक प्रेस

    • बुधबार, वैशाख २४ २०८२०६:३७
    आईपीओ निष्काशनमा धितोपत्र बोर्डले कमिसन मागेको भन्दै अख्तियारले छापा मारेर नियन्त्रणमा लियो फाइल

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डले कमिसन मागेको आरोप लागेपछि कार्यालयमा छापा मारेको छ ।

    अख्तियारको टोलीले बुधबार खुमलटारस्थित बोर्डको कार्यालयमा छापा मारेको हो । अख्तियारले आईपीओ निष्कासन प्रक्रियामा रहेका केही कम्पनीका फाइलहरू नियन्त्रणमा लिएको छ ।

    ‘दिउँसो १२ बजेतिर अख्तियारको टोली बोर्ड कार्यालय आएको थियो, ‘स्रोतले भन्यो, ‘आईपीओ निष्काशन प्रक्रियाका लागि बोर्डमा आवेदन दिएका मध्ये केही कम्पनीको फाइल अख्तियारले छापामारेर लिएर गएको छ ।’ धितोपत्र बोर्डले आईपीओ निष्कासन प्रक्रियामा रहेका कम्पनीहरूसँग कमिसन मागेको आरोप स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानले लगाएको थियो भने बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद सुवोध सापकोटाले छानबिनको समेत माग गरेपछि अख्तियार सक्रिय भएको हो ।

    इप्पानका पदाधिकारीहरुले धितोपत्र बोर्डले प्रवर्द्धकहरूसँग ५० करोडभन्दा कम चुक्ता पुँजी भएका लागि ७ प्रतिशत र ५० करोडभन्दा बढी चुक्ता पुँजी भएकालाई ७ प्रतिशतभन्दा बढी कमिसन मागेको आरोप लगाएका छन् ।

    हाल धितोपत्र बोर्डमा ८९ कम्पनीको ५६ अर्ब ७ करोड ९३ लाख २७ हजार १३२ रुपैयाँ बराबरको ४० करोड ४७ लाख ६ हजार ५४० कित्ता आईपीओ निष्काशनका लागि अनुमतिको पर्खाइमा छन् । जसमध्ये जलविद्युत समूहका मात्र ४३ कम्पनीको १९ अर्ब ४४ करोड ३४ लाख २४ हजार ३३६ रुपैयाँ बराबरको १९ करोड ३ लाख ६१ हजार ५९५ कित्ता सेयर अनुमतिको पर्खाइमा छ ।


    प्रतिक्रिया दिनुहोस