काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले आफ्ना शाखा अधिकृत महिमानसिंह विष्टलाई विभागीय कारबाही अघि बढाइएको छ ।
उनलाई तत्काल निलम्बन गरी जाँचबुझ गर्न थालिएको छ ।
उनले अनुशासनहीन काम गरेको आरोप लगाउँदै विभागीय सजाय गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोध्दै तत्काल निलम्बनको निर्णय गरेको हो । सर्वोच्च प्रशासनले निलम्बनसम्बन्धी निर्णयको बोधार्थ न्याय सेवा आयोगलाई पनि दिइसकेको छ ।
थप जाँचबुझ गर्दा दोषी देखिएमा उनलाई सरकारी सेवाबाट हटाइनेछ ।
निजामती सेवा ऐनको दफा ६१ मा कुनै कर्मचारीले अनुशासनहीन काम गरेमा सेवाबाट हटाउन सकिने व्यवस्था छ । यसरी सेवाबाट हटाउनुअघि आरोपित कर्मचारीलाई निलम्बन गरी जाँचबुझ गर्न सकिने दफा ६४ मा उल्लेख छ ।
उनीविरुद्ध गलत सूचना दिएको र लिखतसम्बन्धी कसुर गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा पनि चलिरहेको छ । अदालतले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाडेको छ ।
वैशाख १७ गते पक्राउ परेका उनी जेठ ५ गते अदालतबाट धरौटीमा छुटेका हुन् । जिल्ला अदालतबाट छुटेपछि हाजिर हुन सर्वोच्च गएका उनलाई त्यहाँको प्रशासनले निलम्बनको पत्र थमाएको थियो ।