काठमाडौँ । मुद्दाको टुंगो नलाग्दै बरामद भएको सुन फिर्ता गर्न नेपाल राष्ट्र बैंकलाई आदेश दिने जिल्ला अदालत मोरङका तहसिलदार हरिप्रसाद गुरागाईको २ ग्रेट रोक्का राख्ने निर्णय भएको छ ।
उक्त पत्र कानुनीविपरीत देखिएपछि सर्वोच्च अदालत प्रशासनले उनीमाथि विभागीय कारबाही गरेको हो ।
सर्वोच्च प्रशासनका अनुसार, आरोपीबाट बरामद भएको उक्त सुन मिसिलसाथ सबुदका रूपमा राखिएको थियो । मुद्दा टुंगो नलाग्दै फिर्ता दिने पत्र लेखेको तथ्य सतहमा आएपछि गत फागुन पहिलो साता उनलाई सर्वोच्चमा झिकाएर जाँचबुझ अघि बढाइएको थियो । त्यसमा दोषी देखिएपछि न्याय सेवा आयोगको परामर्शमा उनको २ ग्रेड रोक्का राख्ने निर्णय भएको हो ।
आयोगको जेठ २ गते बसेको बैठकले सर्वोच्च प्रशासनले प्रस्ताव गरेअनुसारै सजाय गर्न परामर्श दिने निर्णय गरेको थियो ।