काठमाडाैँ । हालसम्म १८ वटा बीमा कम्पनीले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गर्ने कम्पनीमध्ये ९ वटा जीवन बीमा र ९ वटा निर्जीवन बीमा कम्पनी छन् ।
लाभांश घोषणा गर्नेमा जीवन बीमातर्फ एलआईसी नेपाल, नेशनल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ, आइएमई लाइफ इन्स्योरेन्स, नेपाल लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।
निर्जीवन तर्फ एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेको इन्स्योरेन्स र शिखर इन्स्योरेन्स छन् । यी कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।
जीवन बीमा कम्पनी
जीवन बीमा कम्पनीहरूमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले चुक्ता पुँजी ५ अर्ब रुपैयाँको १० प्रतिशत बोनस र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले पनि साधारण सभा तथा बुकक्लोज मिति तय गरेको छैन् ।
नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ५ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश गरी चुक्ता पुँजीको १५ प्रतिशत लाभांश दिने भएकाे छ । कम्पनीले साधारण सभा तथा बुकक्लोज मिति तय गर्छैन बाँकी छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चुक्ता पुँजीको १२ प्रतिशत बोनससहित कर प्रयोजनका लागि ०.६३१५ प्रतिशत नगद दिने घाेषणा गरेकाे छ । म्पनीको सो प्रस्तावित लाभांश प्राधिरकणले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले साधारण सभाको मिति तय गरेको छैन ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद गरी चुक्ता पुँजीको कुल ८.४२१ प्रतिशत लाभांश घोषणा गर्दै जेठ १६ गते बुकक्लोज गर्ने र जेठ २६ गते साधारण सभा गर्ने बताएको छ ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजीको २१.०५ प्रतिशत नगद लाभांश (करसहित) दिँदै साधारण सभा पनि सम्पन्न गरिसकेको छ । आइएमई लाइफ इन्स्योरेन्सले शेयरधनीहरुका लागि आकर्षक प्रतिफल दिएको हाे । कम्पनीले फागुन २५ गते आठाैँ वार्षिक साधारण सभा सम्पन्न गरेको हाे ।
उता, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चुक्ता पुँजीको ९.२४८९ प्रतिशत लाभांश लाभांश घाेषणा गरेकाे छ । जसमा १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश छन् । कम्पनीको आठाैँ वार्षिक साधारण सभा गत ८ चैतमा नै सम्पन्न भइसकेको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ का लागि गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २० प्रतिशत नगद (करसहित) लाभांश दिएकाे छ । यस कम्पनीले २०८१ पुस ६ गते नै १७ औँ वार्षिक साधारण सभा पनि सम्पन्न गरिसकेको छ ।
सबैभन्दा ठूलाे जीवन बसीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको २१.५ प्रतिशत लाभांश दियाे । यस कम्पनीले १० प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गरेको हाे । कम्पनीले २५ औँ वार्षिक साधारण सभा माघ २८ गते सम्पन्न गरिसकेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सले चुक्ता पुँजीको २८.४० प्रतिशत लाभांश घोषणा गरेकाे छ । जसमा २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश छन् । कम्पनीले आठाैँ वार्षिक साधारण सभा पनि गत १५ चैतमा नै सम्पन्न गरिसकेको छ ।
निर्जीवन बीमा कम्पनी
निर्जीवन बीमा कम्पनीहरूमा एनएलजी इन्स्योरेन्सले चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९२० रुपैयाँको २.५ प्रतिशत बोनस (६ करोड २५ लाख ६६ हजार ४४८ रुपैयाँ) र ०.१३१५७९ प्रतिशत (३२ लाख ९२ हजार ९७१ रुपैयाँ) नगद लाभांश दिने भएको छ । कम्पनीले जेठ २९ गते बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा साधारण सभा बोलाएको छ भने बुकक्लोज जेठ २२ गते हुनेछ।
नेपाल इन्स्योरेन्सले चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेकाे छ । कम्पनीले चैत १९ गते मंगलबार ७६ औँ वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ ।
यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ८.७५ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसमेत) घोषणा गरिसकेको छ भने सानिमा जीआईसीले चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.३९४७ प्रतिशत नगद लाभांश दिनेछ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले फागुन २७ गते गते र सानिमा जीआईसीलेले चैत २१ गते साधारण सभा सम्पन्न गरिसकेका छन् ।
त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत (लाभांशमा लाग्ने करसहित) दिएकाे छ । कम्पनीले फागुन १५ गते ३१ औँ वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ ।
यसैगरी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले हाल कायम चुक्तापुँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (करसहित) वितरणकाे निर्णय गरेको छ । कम्पनीले फागुन २५ गते नै २७ औँ वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ ।
शिखर इन्स्योरेन्सले चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँको १०.५२६३ प्रतिशत (२७ करोड ९४ लाख ६८ हजार १३७ रुपैयाँबराबरको) लाभांश वितरण गर्ने निर्णय गरेको छ । फागुन १३ गते सम्पन्न भएको कम्पनीकाे २० औँ वार्षिक साधारण सभाले १० प्रतिशतले हुन आउने २६ करोड ५४ लाख ९४ हजार ७३० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँ नगद लाभांश पाित गरेकाे थियाे ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चुक्ता पुँजीको १५ प्रतिशत (३९ करोड ३३ लाख ९५ हजार ७३० रुपैयाँ नगद) नगद लाभांश दिएकाे छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले वैशाख २८ गते वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
यसैगरी नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनससहित ०.३६८४ प्रतिशत नगद लाभांश दिएकाे छ । नेकोले जेठ ९ गते साधारण सभा सम्पन्न गरिसकेको छ ।
साधारणसभा मिति र बुकक्लोज मितिका आधारमा सेयर खरिद गर्ने लगानीकर्ताहरूले कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन्। कतिपय कम्पनीको सभा सम्पन्न भइसकेको छ । केहीको बुकक्लोज मिति नजिकिँदैछ । बीमा कम्पनीहरूको यो लाभांश घोषणा हालको बजार स्थितिमा लगानीकर्ताहरूका लागि सकारात्मक सन्देशको रूपमा आएको छ ।
लाभांशदर हेर्दा जीवन बीमा कम्पनीहरूले केही अगाडि देखिए पनि, निर्जीवन बीमाले पनि प्रतिस्पर्धात्मक प्रतिफल प्रस्तुत गरेका छन्।