बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बजेट निर्माणका  आधारभूत मूल्य मान्यता र सीमालाई अनुशरण गरी बजेट ल्याइएको छ : अर्थमन्त्री पौडेल


    हुलाक प्रेस

    • शनिबार, जेठ १७ २०८२०३:३३
    बजेट निर्माणका  आधारभूत मूल्य मान्यता र सीमालाई अनुशरण गरी बजेट ल्याइएको छ : अर्थमन्त्री पौडेल

    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेट निर्माणका क्रममा आधारभूत सिद्धान्त, मूल्यमान्यता र सीमालाई अनुशरण गरिएको बताएका छन् । 

    नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) द्वारा आज यहाँ आयोजित बजेटपछिको छलफलमा उनले  मेहिनतका साथ काम गरे राजस्व लक्ष्य पनि सहजै  पूरा गर्न सकिने गरी निर्धारण गरिएको स्पष्ट पारे ।

    अर्थमन्त्री पौडेलले भने, “कहाँबाट आम्दानी हुन्छ, कति हुन्छ, त्यसको कहाँ र कसरी खर्च हुन्छ भन्ने सबै स्पष्ट छ । आन्तरिक ऋण पनि राष्ट्रिय वित्त आयोगले दिएको सुझावभित्र रहेर प्रक्षेपण गरिएको छ ।”

    अन्तरराष्ट्रियस्तरबाट प्राप्त हुनसक्ने सहयोग सीमाको पाटोलाई पनि हेक्का राखेर बजेट निर्माण गरिएको बताउँदै उनले स्रोत अनुमान ठीकै रहेको प्रतिक्रिया पाएकाले त्यसलाई प्रभावकारी परिचालनबाट पूरा गर्न सकिने दाबी गरे । 

    उपप्रधानमन्त्री पौडेलले भने, “बजेट प्रभावकारी कार्यान्वयनबाट आर्थिक वृद्धिदरलाई प्राप्त गर्न सकिन्छ । बजेटलाई सहकारी क्षेत्रको महत्वलाई बुझेर समस्या समाधानमा केन्द्रित गरिएको छ । युवालाई नवप्रवर्तनका माध्यमबाट अघि बढाउन स्पष्ट र सशक्त पहल गरिएको छ । अब पूर्वाधार निर्माण समयमै पूरा गर्न र गुणस्तर कायम गराउन विशेष ध्यान दिइने छ ।”
     
    पूर्वअर्थमन्त्री जनार्दन शर्माले विगतको निरन्तरताका रूपमा ल्याइएको बजेटले अर्थतन्त्र सुधार र नागरिकको जीवनमा समृद्धि दिलाउन नसक्ने जिकिर गरे । 

    उनले भने, “नीतिगत र स्रोत व्यवस्थापनका हिसाबले विगतको निरन्तरतामा बजेट आएको छ । आर्थिक वृद्धिदर बढाउने कार्यक्रम देखिएको छैन । स्रोतको ठूलो दबाबमा बजेट छ । बजेटमा उल्लेख गरेको वैदेशिक लगानी र सहयोग कसरी जुटछ रु किसान र हाम्रा स्रोतसाधन जोड्ने कार्यक्रम बजेटमा कहाँ छ रु”

    आर्थिक क्षेत्रको महत्वपूर्ण निजी क्षेत्र उत्साहित हुनु आफैँमा सकारात्मक रहेको बताउँदै पूर्वअर्थमन्त्री शर्माले युवा र श्रम परिचालनको विषय नबोलिएकाले  युवा आकर्षण र रोजगारी दिने विषय बजेटमा नपरेको दाबी गर्र्नुभयो । “सत्तामा होइन, आर्थिक विकास र समृद्धिका एजेण्डामा राष्ट्रिय सहमति जुटाउनु पर्नेछ । मुलुकलाई विकास र समृद्धिमा लैजान समग्रतामा पुनःसंरचनाको खाँचो छ”, उनले भने । 

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले बजेट कार्यान्वयनमा प्रमुख प्रतिपक्ष दल र निजी क्षेत्रले दिएका सुझावलाई आत्मसात गर्ने विश्वास दिलाए । उनले भने, “विगतमा अन्तरमन्त्रालयबीच सहयोग र समन्वय हुन नसक्दा बजेट कार्यान्वयनमा समस्या देखिएकामा त्यसमा सुधारको प्रयत्न गरिएको छ । त्यसैले पुँजीगत खर्च सहजै बढने अनुमान गरिएको छ, युवा लक्षित बजेट भएकाले उनीहरूलाई  उत्प्रेरित र योगदानलाई उजागर गर्ने काम भएको छ ।”

    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रविधि र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट आएकाले व्यापार र उद्योग क्षेत्रलाई प्रोत्साहन गर्ने देखिएकाले निजी क्षेत्रले स्वागत गरेको बताए । नेपालीलाई विदेशमा लगानी गर्न दिने विषय निकै महत्वपूर्ण र ऐतिहासिक रहेको भन्दै उनले महासङ्घले दिएका सुझाव अधिकांश समेटिएको प्रतिक्रिया दिए ।

    अध्यक्ष ढकालले भने, “वातारणलाई नबिगारी सबै प्रक्रिया पूरा गरी खनिज र नदीजन्य पदार्थको प्रयोग गर्ने कुरा देश र जनताको हितमै छ । लगानी बोर्डलाई शक्तिशाली बनाइएको छ, ऊर्जा क्षेत्रलाई प्राथमिकता दिने र हवाई टिकटमा भ्याट हटाउने विषयलाई सरकारले ध्यान दिनुपर्छ ।”

    नेपाल नेम्बर अफ कर्मसका अध्यक्ष  कमलेशकुमार अग्रवालले अफ्ठ्यारो परिस्थितिमा आएको बजेट विकासमुखी र महत्वकांक्षी हुनुका साथै आइटी र प्रविधिलाई ध्यानमा राखिएको भन्दै सराहना गरे । उनले ठूला राष्ट्रबाट आउने अनुदानमा कमी आउने देखिँदा अर्थतन्त्रमा असर पर्न गई व्यवसायमा सङ्कुचन आउन सक्नेतर्फ विचार गरी पुनःकर्जाका व्यवस्था गर्न सुझाव दिए ।

    नेपाल उद्योग परिसङ्घका पूर्वअध्यक्ष विष्णु अग्रवालले लगानीमैत्री वातावरण र निजी क्षेत्रको मनोबल उठाउने ढङ्गबाट बजेट ल्याइएको बताए । उनले भने, “उद्योगी व्यवसायीको मनोबल उकास्ने र लगानी आकर्षित गर्ने किसिमबाट बजेट आएको छ, बजेटले सम्भावनाका क्षेत्र कृषि, ऊर्जा, पर्यटन र आइटी क्षेत्रलाई पहिचान गरेको छ ।”
     रासस


    प्रतिक्रिया दिनुहोस