बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आज र भोलि गर्मी बढ्ने, बुधबार पानी पर्ने


    हुलाक प्रेस

    • सोमबार, जेठ २६ २०८२०८:५६
    आज र भोलि गर्मी बढ्ने, बुधबार पानी पर्ने

    काठमाडौं । केही दिनबाट बढेको गर्मीले आज पनि निरन्तरता पाउने भएको छ । देशका धेरै भूभागमा सुक्खा हुँदा गर्मी बढेको हो । 

    “आज र भोलिसम्म तापक्रम बढ्ने देखिन्छ । भोलि रातिबाट पानी पार्ने प्रणाली अलि धेरै विकास हुनेछ,” जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजन अधिकारी भन्छन्, “आज र भोलि दिउँसोसम्म देशका धेरै स्थानमा वर्षा हुने छैन ।” 

    भोलिबाट हल्का वर्षा गराउने प्रणाली विकास भएर बुधबारबाट वर्षा हुने उनको भनाइ छ । मौसमविद् विनोद पोखरेल पनि आज र भोलि गर्मी हुने बताउँछन् । आज र भोलि आइतबारको भन्दा गर्मी हुने उनको भनाइ छ । 

    “आज र भोलि अझै गर्मी बढ्ने देखिन्छ । सोमबार वर्षाको सम्भावना देखिँदैन । तर, मंगलबारदेखि हल्का वर्षाको सुरुवात हुन्छ,” मौसमविद् पोखरेल भन्छन्, “बुधबार देखि तापक्रम घट्दै जान्छ र वर्षा बढ्दै जान्छ । यो हप्ताभरमा मनसुनले लगभग नेपाल पूरै यात्रा गर्ने सम्भावना छ ।” बिहीबारदेखि केही ठाउँमा भारी वर्षा पनि हुनसक्ने सम्भावना रहेको उनले प्रष्ट पारेका छन् । जेठ १५ गते कोसी प्रदेशमा भित्रिएको मनसुन त्यसभन्दा अगाडि बढ्न सकेको छैन । 

    यसैबीच, आज काठमाडौंको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान रहेको छ । आइतबार काठमाडौंको अधिकतम तापक्रम ३०.४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् दाहालले जानकारी दिए । 

    आज दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

    कोसी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 


    प्रतिक्रिया दिनुहोस