काठमाडौँ । काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको घटनाका प्रतिवादीहरुलाई थुनामै राख्ने कि थुनाबाहिर भन्ने आजै आदेश आउने भएको छ ।
जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बहस सकिएपछि आजै आदेश आउने सम्भावना छ। न्यायाधीश कार्की आदेश लेखिरहेका छन् ।
राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधको कसुरका ३९ प्रतिवादीहरुलाई अहिले पनि अदालतमै राखिएको छ । यी मध्ये दुर्गा प्रसाईंसहित ८ जनालाई भने कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको पनि मुद्दा लगाइएको छ ।
यसअघि भाटभटेनी लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका ११ जनामध्ये १० जना धरौटीमा रिहा भएका छन् । एक जना फरार छन् । यो मुद्दामा राप्रपाका वरिष्ष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेरलाई पनि प्रतिवादी बनाइएको छ । तर उनीहरुसहित ११ जना भने फरार सूचीमा छन् । राणा र मिश्र अनुसन्धानकै क्रममा छुटेका थिए ।
अब उनीहरु सिधै अदालत उपस्थित हुने तयारीमा छन् । यस्तै चार जना नाबालकविरुद्ध बाल अदालत भक्तपुरमा मुद्दा दायर गरिएको छ । चैत १५ गतेको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो । आन्दोलनकारीले आगो लगाउँदा पत्रकार सुरेश रजकको जलेर ज्यान गएको थियो ।
प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । यो प्रदर्शनको कमाण्डर दुर्गा प्रसाईं तोकिएका थिए ।