शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • तीनकुने घटनाः दुर्गा प्रसाइसहित ७ जना थुनामा, ३२ जनालाई धरौटीमा छाड्न आदेश


    हुलाक प्रेस

    • शुक्रबार, जेठ ३० २०८२०९:२९
    तीनकुने घटनाः दुर्गा प्रसाइसहित ७ जना थुनामा, ३२ जनालाई धरौटीमा छाड्न आदेश

    काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये ७ जनालाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति ढिलोगरी आदेश जारी गरेको थियो । राति झण्डै सवा १२ बजेमात्रै अदालतबाट प्रसाईंसहित ७ जना प्रतिवादीलाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भयो ।

    सोही अनुसार, जिल्ला प्रहरी परिसर काठमाडौंले अहिले मुद्दा अनुसार काम अघि बढाएको छ । आदेश लेखनमा सहभागी शाखा अधिकृत बालाजी प्रसाद पाण्डेका अनुसार, आदेश १ सय ५५ पन्नाको छ ।

    तीनकुने घटनामै संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बारेमा भने आजको आदेशमा केही उल्लेख छैन । अदालतमा उपस्थित नै नभएको भन्दै मिश्र र जबरालाई भने फरार प्रतिवादीको रुपमा अदालतले राखेको छ ।

    ‘उपस्थित नै नभएको उहाँहरूको हकमा अभियोग दायर भएकै दिन फरार प्रतिवादीको हकमा पक्राउ पूर्जी जारी गर्ने भन्ने भएको छ,’ पाण्डेले भने, ‘पहिलै आदेश भइसकेको छ । अहिले केही आदेश गर्नुपर्ने नै छैन ।’ उनका अनुसार, आदेश लेखनको काम दुई दिनदेखि नै भइरहेको थियो । धेरै प्रतिवादी र अभियोग एकैसाथ भएकाले आदेश लेखनमा ढिलो भएको शाखा अधिकृत पाण्डेले बताए । धेरैको चासो रहेको यो आदेश लेखनमा न्यायाधीश कार्कीसँगै अदालतका कर्मचारी पनि थिए ।

    साँझ ५ बजे नै थुनछेक बहस सकिए पनि रातिमात्रै आदेश सार्वजनिक भएको थियो ।तीनकुने घटनापछि केही समय फरार भएर भारतबाट पक्राउ परेका प्रसाईंसहितको आदेश सार्वजनिक हुनुअघि अदालत परिसरमा भिड थियो ।

    समर्थक, आफन्त, प्रहरी र सञ्चारकर्मी अदालत अगाडि उपस्थित थिए ।

    को को थुनामा ?

    दुर्गा प्रसाद प्रसाईं
    तारा राजावादी भन्ने सरोज गौतम
    अनुप राजावादी भन्ने गोकर्ण शाही
    डण्डपानी रेग्मी
    शुसिल बराल
    केशव बस्नेत
    कुमार तामाङ


    प्रतिक्रिया दिनुहोस