बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • इजरायली आक्रमणबाट इरानमा ७८ जना मारिए, ३२० भन्दा बढी घाइते


    हुलाक प्रेस

    • शनिबार, जेठ ३१ २०८२०९:३१
    इजरायली आक्रमणबाट इरानमा ७८ जना मारिए, ३२० भन्दा बढी घाइते

    काठमाडौं । इजरायलले इरानमाथि गरेको आक्रमणमा मारिएकामध्ये धेरैजसो महिला र बालबालिकासहित सर्वसाधारण रहेको खुलेको छ । इजरायलले भने वरिष्ठ सैनिक अधिकारी र आणविक वैज्ञानिकलाई लक्षित गरेको बताएको छ ।

    इजरायले इरानमाथि गरेको आक्रमणमा अहिलेसम्म ७८ जना मारिएका छन् । यस्तै, ३२० भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।

    संयुक्त राष्ट्रसंघमा इरानका स्थायी प्रतिनिधि अमीर सईद इरवानीले शुक्रबार आपत्‌कालीन सुरक्षा परिषद् बैठकमा यो जानकारी दिएका हुन् । उनले इजरायलको यस आक्रमणलाई बर्बर र आपराधिक भन्दै कडा शब्दमा निन्दा गरेका छन् । इरावनीले जानाजानी र व्यवस्थितरूपमा हत्या गरिएको बताएका छन् ।

    उनले अमेरिकाले यी अपराधहरूका लागि सहयोग र सहायता दिएको आरोप लगाएका छन् । "अमेरिकी हतियारले इजरायली हमलामा हाम्रा मानिसहरूको ज्यान गएको हामी बिर्सने छैनौँ," उनले भने ।

    उनले सुरक्षा परिषद्लाई इजरायलको कारबाहीको निन्दा गर्न र उनीहरूलाई जवाफदेही ठहराउन आग्रह गरेका छन् । 

    इरवानीले इजरायलले शुक्रबार पनि इरानका विभिन्न सहरमा सैन्य र नागरिक संरचनालाई लक्षित गर्दै आक्रमण जारी राखेको उनले बताए ।

    इरानी अधिकारीका अनुसार, इजरायलले पहिले नै इरानभित्र पठाएका मानवरहित यान र युद्धक विमान प्रयोग गर्दै इरानको आणविक तथा सैनिक संरचनाको केन्द्रमै आक्रमण गरेको हो । यस क्रममा इरानमा ६ जना परमाणु वैज्ञानिक र उच्च सैनिक मारिएको दाबी गरिएको छ । 

    इजरायलले भने इरान आणविक हतियार निर्माणको नजिक पुगेकाले कारबाही अत्यावश्यक रहेको बताएको छ ।

    बीबीसीबाट ।


    प्रतिक्रिया दिनुहोस