काठमाडौँ । नेपालमा कार्गो तथा कुरिअर व्यवसाय गर्ने नेपाल क्यान मुभ प्रालिविरुद्ध राजस्व चुहावट मुद्दाका तीन प्रतिवादीलाई धरौटीमा छाड्न आदेश भएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले मंगलबार थुनछेक बहसपछि पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश गरेको हो ।
गत असार १ गते १ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गर्दै राजस्व अनुसन्धान विभागले क्यान मुभविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त घटनामा गंगा बहादुर थापा, मनिष प्रसाद आचार्य र संगम पौडेल पक्राउ परेका थिए ।
उच्चले थापाबाट ६० लाख, पौडेलबाट ३० लाख र आचार्यबाट १० लाख रुपैयाँ धरौटी माग गरेको हो । काठमाडौँको तीनकुनेमा रहेको क्यान मुभले आर्थिक वर्ष २०७६/७७ देखि ८१/८२ को फागुनसम्म राजस्व छली गरेको आरोपमा अनलाइन प्रणाली एनसिएम नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।