काठमाडौं । अफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जन सर्वोच्च अदालतमा तानिएका छन् । उनीहरूलाई काजमा सर्वोच्च तानिएको हो ।
न्याय परिषद्को बुधबार बसेको बैठकले न्यायाधीशद्वय थारू र महर्जनलाई काजमा सर्वोच्च तान्ने निर्णय गरेको न्याय परिषद् सचिवालय स्रोत बताउँछ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने दुई न्यायाधीश सर्वोच्च अदालत तानिएका छन्।
उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा कार्यरत न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई सर्वोच्चमा काजमा तानिएको न्याय परिषद्का एक सदस्यले जानकारी दिए।
उनका अनुसार फैसलाका कारण विवादित भएको र सुरक्षाको पनि प्रश्न उठेकोले सर्वोच्चमा काजमा रहने गरी तानिएको हो। 'उनीहरूमा छानबिनमै रहेकाले थप कुरा बुझ्न सजिलो हुन्छ,' ती सदस्यले भने, 'जाँचबुझ भइरहेकै छ बाँकी कुराहरू केही दिनमा सार्वजनिक होला।'
उनीहरूविरुद्ध न्याय परिषद्मा पीडित परिवारले केही दिनअघि मात्रै पनि उजुरी दिएका छन्। उनीहरूमाथि एउटा समूहले इजलासमै पसेर मोसोसमेत पनि दलिएको थियो।
उच्च अदालतले सफाइ दिएपछि आलम जेठ १४ गते कारागारमुक्त भइसकेका छन्। त्यसअघि रौतहट जिल्ला अदालतले आलमसहित ४ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।
रौतहट जिल्ला अदालतका तत्कालीन न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान कसुरमा उनलाई दोषी ठहर गरेको थियो।
घाइतेलाई इँटा भट्टामा लगेर पोलेको भन्ने अभियोग पुष्टि नहुने जिल्लाको फैसला भने उच्चले सदर गरिदिएको हो।
संविधान सभा निर्वाचनताका २०६४ चैत २७ गते रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको कांग्रेस उम्मेदवार मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको थियो।
आलमले चुनाव जित्न भारतबाट बम बनाउने मानिस बोलाएका थिए। त्रास देखाएर बुथ कब्जा गरी चुनाव जित्ने रणनीतिमा रहेका मोहम्मद आफ्ताब आलमकै घरमा बम बनाउने क्रममा विस्फोट हुँदा पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए। आफन्तको गोठमा बम बनाउँदै गरेका उनीहरू घाइते भएपछि आफ्नो योजनाको पोल खुल्ने डरले उनीहरूलाई आलमले आफ्नै इँटाभट्टाको चिम्नीमा जलाई मारेको अभियोग थियो।
उक्त घटनाको १२ वर्षपछि २६ असोज २०७६ मा मात्र उनी पक्राउ परेका थिए। उच्च अदालतको फैसलापछि आलम जेलमुक्त भइसकेका छन् ।