काठमाडौँ । अमेरिकाले शनिबार रातिदेखि इरानमा आक्रमण सुरु गरेको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन आणविक स्थल- फोर्डो, नातान्ज र इस्फहानमा आक्रमण पूरा गरिसकेको घोषणा गरेका छन् ।
ट्रम्पले भनेको आक्रमणमा सबैभन्दा बढी चर्चा भइरहेको हतियार हो- म्यासिभ अर्डनेन्स पेनिट्रेटर । अमेरिकाले इरानविरुद्ध यही हतियार प्रयोग गरेको अनुमान छ । यसको आधिकारिक नाम जीबीयू-५७ हो । यसको अर्थ गाइडेड बम युनिट हो र ५७ यसको डिजाइन नम्बर हो ।
जीबीयू-५७ लाई अमेरिकाले मात्र प्रभावकारी रूपमा प्रयोग गर्न सक्छ र यो मिसौरीको ह्वाइटम्यान एयर फोर्स बेसबाट उडान गर्ने बी-टु स्पिरिट स्टेल्थ बमवर्षकबाट गरिन्छ । रोयटर्सका अनुसार, एक अमेरिकी अधिकारीले इरानविरुद्धको आक्रमणमा बी-टु बमवर्षक संलग्न रहेको बताएका छन् ।
यसअघि अमेरिकाले गुआम टापुमा अमेरिकी बी-टु स्टिल्थ बमवर्षक पठाएको रिपोर्ट सार्वजनिक भएको थियो। यसपछि अमेरिकाले इरानविरुद्धको आक्रमणमा यही प्रयोग गरेको ठानिएको छ ।
जीबीयू-५७ बम कति खतरनाक?
सरल शब्दमा भन्नुपर्दा यसको तैनाथी यस प्रकार छ: लक्ष्य चयन गरिन्छ । लक्ष्यलाई बम विस्फोटक विमानको टार्गेटिङ सिस्टममा राखिन्छ र त्यसपछि यो जानकारी बममा स्थानान्तरण गरिन्छ ।
सटिक निर्देशन उपग्रह नेभिगेसनमार्फत गरिन्छ । भारी बम सामान्यतया ५० हजार फिटको उचाइबाट खसालिन्छ, जसले यसलाई धेरै गतिको ऊर्जा (काइनेटिक इनर्जी) दिन्छ । अर्थात्, गतिबाट उत्पन्न हुने ऊर्जा जसले बमलाई जमिनमा गहिरो रूपमा प्रवेश गर्ने शक्ति दिन्छ ।
बमको बाहिरी भाग विशेष रूपमा बलियो बनाइएको छ ताकि यो ठोकिँदा यसको संरचना अक्षुण्ण रहन्छ । यसको पछाडिको भागमा जडान गरिएको ढिलाइ फ्युजिङ प्रणालीले ५,३०० पाउन्डको विस्फोटक पदार्थ सही गहिराइमा विस्फोट हुने कुरा सुनिश्चित गर्छ । प्रायः एकभन्दा बढी बम खसालिन्छ । पहिलो बम बाटो बनाउन र दोस्रो वा अन्य बम कुनै पनि लक्ष्यलाई पूर्ण रूपमा नष्ट गर्न । यी सबै एकै बिन्दुमा खसालिन्छन् ।
आणविक हतियारहरूलाई एकछिन छाड्ने हो भने जीबीयू-५७ बमलाई संसारको सबैभन्दा ठूलो 'बंकर बस्टर' बम भनिन्छ। अमेरिकासँग मात्र यो बम छ ।
लगभग १३ हजार ६०० किलोग्राम तौल भएको यो हतियार, जसको सटिक लक्ष्य छ, सम्भवतः इरानको भूमिगत आणविक स्थल फोर्डोमा पुग्न सक्छ। फोर्डो आणविक केन्द्र पहाडभित्र छ ।
अमेरिकी सरकारका अनुसार, जीबीयू-५७ एक 'खतरनाक प्रवेश हतियार' हो, जसमा गहिराइमा गाडिएको तथा बलियो बंकरसहित सुरुङमा आक्रमण गर्ने क्षमता छ ।
यो ६ मिटर लामो बम विस्फोट हुनुअघि सतहबाट लगभग ६१ मिटर तल प्रवेश गर्न सक्षम मानिन्छ । यसमार्फत एकपछि अर्को धेरै बम खसाल्न सकिन्छ, ताकि प्रत्येक विस्फोटका साथ बम गहिरो ड्रिल गर्न सकियोस् ।
यो बोइङ कम्पनीद्वारा बनाइएको हो र एमओपी कहिल्यै युद्धमा प्रयोग गरिएको छैन । यो हतियार अमेरिकाको न्यु मेक्सिको प्रान्तको ह्वाइट स्यान्ड्स मिसाइल रेन्जमा परीक्षण गरिएको छ ।
यो म्यासिभ अर्डनेन्स एयर ब्लास्ट (एमओएबी) भन्दा बढी शक्तिशाली हतियार हो । एमओएबी ९ हजार ८०० किलोग्राम तौल भएको हतियार हो, जसलाई ‘सबै बमको आमा’ भनेर चिनिन्छ ।
सन् २०१७ मा अफगानिस्तानमा भएको युद्धको समयमा यसको प्रयोग गरिएको थियो । इजरायलसँग युद्ध गरिररहेको इरानमा अमेरिकाले गएराति बम हमला गरेको हो। इरानस्थित फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरिएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
इरानले पनि अमेरिकाबाट आक्रमण भएको पुष्टि गरेको छ । इरान अझै शान्तिको बाटोमा नआए थप ठूला हमला गरिने चेतावनी ट्रम्पले दिएका छन् ।
यसैबीच संयुक्त राष्ट्रसंघले इरानमा अमेरिकाको आक्रमणप्रति गम्भीर चिन्ता प्रकट गरेको छ। सुरुमा इजरायलले यही जुन १३ मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ ।
यस क्रममा हालसम्म इरानमा ६५७ जनाको मृत्यु र २००० भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ । उता इजरायलमा पनि २४ जनाको मृत्यु र ९०० भन्दा बढी घाइते भएको बताइएको छ । यहीबीच अमेरिकाले पनि इरानमा आक्रमण थालेको हो ।