काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानलाई विश्वकै एक प्रमुख कच्चा तेल व्यापार मार्ग, होर्मुज स्ट्रेट बन्द गर्नबाट रोक्न चीनसँगै आग्रह गरेको छ ।
“म बेइजिङस्थित चिनियाँ सरकारलाई यसबारे कुरा गर्न आग्रह गर्छु । उनीहरू आफैँ पनि तेलका लागि होर्मुज स्ट्रेटमा धेरै नै निर्भर छन्,” उनले फक्स न्यूजसँगको अन्तर्वार्तामा भने ।
चीन इरानको सबैभन्दा ठूलो तेल ग्राहक हो । चीनले इस्लामिक गणतन्त्रसँग राम्रो सम्बन्ध राख्दै आएको सीएनबीसीले जनाएको छ ।
अमेरिकाले शनिबार इरानका तीन प्रमुख आणविकस्थलमा आक्रमण गरेपछि इरानी विदेशमन्त्रीले आइतबार बिहान देशको सार्वभौमसत्ता रक्षा गर्न सबै विकल्पहरू खुला राखिएको चेतावनी दिएका थिए ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इरानी संसद्ले होर्मुज स्ट्रेट बन्द गर्ने प्रस्तावमा समर्थन जनाएको छ । तर, यस्तो निर्णय संसद्ले मात्रै गर्न सक्दैन । अन्तिम निर्णय इरानको राष्ट्रिय सुरक्षा परिषद्ले गर्छ ।
इरान र ओमानबीचको द्वन्द्वका कारण होर्मुज स्ट्रेटमा अवरुद्ध हुने अवस्था आए विश्व अर्थतन्त्रका लागि गम्भीर असर पार्ने चेतावनी विश्लेषकहरूले दिएका छन् ।
२० प्रतिशत विश्वको तेल आपूर्ति यही मार्गबाट
अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए)का अनुसार, सन् २०२४ मा होर्मुज स्ट्रेट हुँदै दैनिक २० मिलियन ब्यारेल कच्चा तेल अर्थात् विश्वको कुल तेल खपतको २० प्रतिशत प्रवाहित भएको थियो ।
गोल्डम्यान स्याक्स र परामर्शदाता संस्था रेपिडान इनर्जीका अनुसार यदि, होर्मुज स्ट्रेट लामो समयसम्म बन्द भयो भने तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुग्नसक्छ ।
जेपी मोर्गनका विश्लेषकहरू इरानले होर्मुज बन्द गर्ने सम्भावना कम रहेको बताउँछन् । अमेरिकाले यस्तो कदमलाई युद्धको घोषणाको रूपमा लिनसक्ने भएकाले इरानले यो कदम नउठाउने उनीहरूको तर्क छ ।
विदेशमन्त्री रुबियोले इरानले होर्मुज स्ट्रेट बन्द गर्नु ‘आर्थिक आत्महत्या’ सरह हुने टिप्पणी गरेका छन् ।
इरानको तेल चीनमै निर्भर
इरान ओपेकको तेस्रो ठूलो तेल उत्पादक हो, जसको दैनिक उत्पादन ३.३ मिलियन ब्यारेल रहेको छ । केप्लरको तथ्यांक अनुसार पछिल्लो महिनामा इरानले १.८४ मिलियन ब्यारेल प्रतिदिन निर्यात गरेको थियो । यसको अधिकांश भाग चीनलाई बिक्री गरिएको थियो ।
केप्लरका अनुसार चीनले समुद्री मार्ग हुँदै आयात गर्ने कच्चा तेलमध्ये करिब आधा फारसी खाडीबाट आउँछ ।
“यदि स्ट्रेट बन्द गरियो भने त्यो आत्मघाती निर्णय हुनेछ । त्यसले चीनतर्फको निर्यात प्रवाह बन्द गरिदिन्छ, जसले इरानको प्रमुख राजस्व स्रोतमा ठूलो असर पार्नेछ,” केप्लरका प्रमुख तेल विश्लेषक म्याट स्मिथले सीएनबीसीसँग भने ।
अमेरिकासँग छन् विकल्प
विदेशमन्त्री रुबियोले इरानले स्ट्रेट बन्द गर्ने प्रयास गरे अमेरिका त्यसको सामना गर्न सक्षम रहेको बताएका छन् ।
“यसले हाम्रोभन्दा अरू देशहरूको अर्थतन्त्रमा अझ गहिरो असर पार्नेछ,” उनले भने । यो एउटा ठूलो विषय बन्न सक्ने र यसको असर अमेरिकामात्रै नभएर अरू देशहरूमा पर्नेछ ।
सैन्य तयारी र चेतावनी
अमेरिकी नौसेनाको पाँचौं फ्लिट बहराइनमा तैनाथ छ । यसले फारसी खाडीमा समुद्री सुरक्षाको जिम्मा पाएको छ । तेल बजारका सहभागीहरू अमेरिकाले होर्मुज स्ट्रेटमा इरानको कुनै पनि अवरोध प्रयास तुरुन्तै सामना गर्ने बताउँछन् ।
तर, केही विश्लेषकहरूले बजारले वास्तविक जोखिमलाई कम आँकेको चेतावनी दिएका छन् ।
“हाम्रो मूल्यांकनमा इरानले शिपिङलाई बजारले सोचेभन्दा लामो समयसम्म रोक्न सक्छ,” रेपिडान इनर्जीका संस्थापक तथा पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशका ऊर्जा सल्लाहकार बब म्याकनलीले भने ।
उनले थपे, “यो समस्या केही घण्टा वा दिनमा समाधान हुने विश्वास गर्नु बजारको भ्रम हुनसक्छ । अमेरिकी नौसेनाले अन्ततः जित्नेछ, तर प्रक्रिया सहज हुनेछैन ।”
के हो होर्मुज स्ट्रेट ?
होर्मुज स्ट्रेट, इरान र ओमानको सिमानामा अवस्थित एक रणनीतिक रूपमा महत्त्वपूर्ण जलमार्ग हो। यसले फारस (पर्सियन गल्फ) र ओमानको खाडीलाई जोड्छ। यो साँघुरो जलमार्ग कतिपय स्थानमा केवल ३३ किलोमिटर चौडा छ। यसको महत्त्व यसबाट प्रवाहित हुने विश्वको कुल तेल आपूर्तिको करिब पाँचौं हिस्साका कारण बढेको हो।
यो मार्ग विश्वभर ग्यास र तेल आपूर्तिका लागि महत्वपूर्ण छ किनभने यसले मध्यपूर्वका तेल उत्पादक देशहरूबाट एसिया, युरोप र उत्तर अमेरिका लगायत विश्वका अन्य भागमा तेल र ग्यास पुर्याउँछ।
यसले उत्तरमा इरान र दक्षिणमा ओमान एवं संयुक्त अरब इमिरेट्सबीच पर्सियन खाडी र अरब सागरलाई जोड्छ ।
साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत र इरानबाट निर्यात हुने कच्चा तेल यही मार्ग हुँदै अन्य देशहरूमा पुग्छ। यसैगरी, विश्वको सबैभन्दा धेरै लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) निर्यात गर्ने देश कतार पनि यही मार्गमा निर्भर छ।
यहाँबाट प्रतिदिन करिब २ करोड ब्यारेल कच्चा तेल ढुवानी हुन्छ जुन विश्वव्यापी दैनिक उत्पादनको पाँचौं हिस्सा हो ।
त्यसैले अन्तर्राष्ट्रिय व्यापार र ढुवानीका लागि स्ट्रेट अफ होर्मुज अत्यधिक महत्वपूर्ण समुद्री बाटो हो । कच्चा तेल व्यापारको सबैभन्दा ठूलो मार्गको रूपमा लिइने होर्मुज स्ट्रेटबाट विश्वको करिब २० प्रतिशत तेल र २० प्रतिशत तरल प्राकृतिक ग्यास ढुवानी हुन्छ ।
तेल निर्यातका लागि प्रमुख तेल उत्पादक देशहरू साउदी अरब, इराक, कुवेत, कतार पनि यही बाटोमा निर्भर छन् । त्यसैले होर्मुज स्ट्रेट बन्द हुँदा विश्वव्यापी रूपमै तेल आपूर्तिमा समस्या सिर्जना हुन्छ र तेलको मूल्यमा उच्च वृद्धि हुन्छ ।
यही रणनीतिक महत्वको कारणले यो क्षेत्र दशकौंदेखि भू-राजनीतिक तनाव र विवादको केन्द्रमा रहँदै आएको छ।
तेल बजारमा हालैको उतारचढाव
इजरायल र इरानबीच बढ्दो तनावका कारण तेल आपूर्तिमा पर्न सक्ने प्रभावको पूर्वानुमानले हालै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ ।
एसियाली बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य २.८ प्रतिशतले बढेर ७६.३७ डलर प्रति ब्यारेल पुगेको थियो भने अमेरिकी कच्चा तेलको मूल्य करिब २ डलर बढेर ७५.०१ डलर प्रति ब्यारेलमा पुगेको थियो । यो वृद्धि शुक्रबारको ७ प्रतिशतको तीव्र वृद्धिको लगत्तै भएको हो ।
सन् १९८० देखि १९८८ सम्म चलेको इरान-इराक युद्धका क्रममा दुवै देशले एक-अर्काको तेल आपूर्ति यही मार्गमा रोक्न खोजेका थिए। त्यस संघर्षमा व्यावसायिक ट्यांकरहरूमा आक्रमण भएका थिए, जसलाई ‘ट्यांकर युद्ध’ को नामले चिनिन्छ । यसले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा गम्भीर असर पारेको थियो ।
होर्मुज स्ट्रेट बन्द भए के हुन्छ?
इजरायलसँगको तनावबीच इरानले होर्मुज स्ट्रेट बन्द गर्यो भने विश्वव्यापी तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा प्रभावित हुने अनुमान गरिएको छ। जुन महिनामा वैश्विक वित्तीय संस्था जेपी मोर्गनले यदि यस्तो स्थिति आएमा कच्चा तेलको मूल्य १२० देखि १३० डलर प्रति ब्यारेलसम्म पुग्न सक्ने चेतावनी दिएको थियो ।
यसअघि पनि होर्मुज स्ट्रेट इरान-अमेरिका बीचको विवाद र टकरावको केन्द्रमा रहेको थियो ।
सन् १९८८ को घटना: एक अमेरिकी लडाकु विमानले इरानी यात्रुवाहक विमान खसाल्दा २९० जनाको मृत्यु भएको थियो । अमेरिकाले यसलाई ‘सैन्य गल्ती’ दाबी गर्दै नौसैनिक टोलीले उक्त विमानलाई लडाकु विमान ठानेर खसालेको स्वीकार गरेको थियो। तर इरानले यसलाई ‘पूर्वनियोजित हमला’ करार गरेको थियो ।
अमेरिकाले आफ्ना युद्धपोतहरू यस क्षेत्रमा व्यापारिक जहाजहरूको सुरक्षाका लागि तैनाथ रहेको दाबी गर्दै आएको छ । तर अमेरिकाको यो तैनाथीप्रति इरान चनाखो छ । इरानी रिभोल्युशनरी गार्ड्सका तत्कालीन प्रमुख मोहम्मद अलजाफरीले यदि अमेरिकी जहाजहरूले आफ्ना डुंगाहरूमा आक्रमण कोसिस गरेमा अमेरिकी जहाजहरू कब्जा गर्ने चेतावनी दिएका थिए ।
यस स्ट्रेटमा सन् २०१० मा एक जापानी तेल ट्यांकरमाथि आक्रमण भएको थियो, जसको जिम्मा अल-कायदा सम्बद्ध समूहले लिएको थियो ।
अमेरिका र युरोपले इरानमाथि आर्थिक प्रतिबन्ध लगाएपछि तेहरानले सन् २०१२ मा होर्मुज स्ट्रेट बन्द गर्ने धम्की दिएको थियो । इरानले ती प्रतिबन्धहरू उसलाई तेल निर्यातबाट प्राप्त हुने वैदेशिक मुद्राबाट बञ्चित गर्ने षड्यन्त्र भएको टिप्पणी गरेको थियो ।
सन् २०१८ मा अमेरिकाले इरानी तेल निर्यातलाई ‘शून्य’ बनाउने नीति अपनाएको थियो। इरानी रिभोल्युशनरी गार्ड्सका एक कमाण्डरले पनि यदि इरानी तेल निर्यात रोकिने हो भने होर्मुज स्ट्रेटबाट हुने तेल ढुवानी बन्द गर्ने चेतावनी दिएका थिए ।
होर्मुज स्ट्रेटको यही रणनीतिक महत्वका कारण अमेरिकाले यसलाई बन्द गर्ने इरानी निर्णय रोक्न चीनलाई गुहारेको विश्लेषण हुन थालेको छ ।
तर सोमबार एसियाली बजार खुलेसँगै ब्रेन्ट र अमेरिकी सूचक डब्लुटीआई दुवैले पहिलेको मूल्य वृद्धिलाई सच्याएको छ । ब्रेन्ट अन्तिमपटक ०.५३ प्रतिशत घटेर ७६.४९ डलरमा कारोबार भइरहेको थियो भने डब्लुटीआई ०.६२ प्रतिशत घटेर ७३.३८ डलरमा झरेको थियो ।
ऊर्जा लगानी कम्पनी टर्ट्वाइज क्यापिटलका वरिष्ठ पोर्टफोलियो प्रबन्धक रोब थुमेलले सीएनएनसँगको कुराकानीमा भनेका छन्, ‘यदि इरानले नियन्त्रणमा राखेको जलमार्गमा कुनै बाधा आयो भने तेलको मूल्य १०० डलर प्रति ब्यारेलसम्म पुग्न सक्छ ।’
इरानका सर्वोच्च नेता आयातोल्ला अली खामेनीका एक प्रमुख सल्लाहकारले होर्मुज स्ट्रेट बन्द गर्न आह्वान गरिसकेका छन् ।
इरानले भौगोलिक रूपमा विश्वव्यापी जल यातायातमा प्रभाव पार्न सक्ने स्थान ओगटेकाले तेल बजारमा झट्का दिन, मूल्य बढाउन, मुद्रास्फीति बढाउन र ट्रम्पको आर्थिक योजनालाई असफल पार्न सक्ने क्षमता राख्ने इरानी विश्लेषकहरूले बताइरहेका छन् ।
अर्काथरीले भने इरानले होर्मुज स्ट्रेट बन्द गर्न खोजे धेरै क्षति बेहोर्नुपर्ने बताएका छन् । ‘इस्लामिक गणतन्त्रमाथि इजरायली र अमेरिकी आक्रमण भइरहँदा तटस्थ वा सहानुभूतिपूर्ण रहँदै आएका छिमेकी तेल उत्पादक देशहरूलाई शत्रु बनाउन इरान सक्दैन, न त आफ्नो मुख्य कच्चा तेल बजार चीनलाई आक्रोशित बनाउन सघाउँनेछ,’ एक विश्लेषकले भने ।