शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • विशेष अदालतमा कसरी भइरहेछ माधव नेपालको बयान ?


    हुलाक प्रेस

    • बुधबार, असार ११ २०८२०१:१७
    विशेष अदालतमा कसरी भइरहेछ माधव नेपालको बयान ?

    काठमाडौं । विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान चलिरहेको छ । विशेष अदालतका सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान भइरहेको हो ।

    बुधबार बिहान पूर्वप्रधानमन्त्री नेपालले दिएको निवेदनका आधारमा उनको मुद्दा इजलास नं.– २ मा तोकिएको थियो । इजलास बस्नासाथ तीन न्यायाधीशहरुको रोहबरमा अदालतका कर्मचारीहरुले नेपालको बयान लिइरहेका छन् ।

    अदालतका कर्मचारीहरुले नेपाललाई सोध्नका लागि बिहानै प्रश्नावलीको तयारी गरेका थिए । कर्मचारीहरुले प्रश्न सोध्ने, त्यसमा आरोपितले जवाफ दिने अनि जवाफ सुनेर अदालतकै कर्मचारीले कम्प्युटरमा बयान टाइप गर्छन् ।

    टाइप गरेको जवाफलाई त्यसलाई प्रिन्ट गरेर आरोपितलाई रुजु गराइन्छ र इजलासमा पेश हुन्छ । आरोपितहरुलाई आफैं जवाफ लेख्ने सुविधा पनि हुन्छ, तर पूर्वप्रधानमन्त्री नेपालले त्यो सुविधा लिएका छैनन् ।

    टिफिन टाइमअघि बहस सकेपछि थुनछेक बहस

    पूर्वप्रधानमन्त्री नेपाल पक्षधर कानून व्यवसायीहरुका अनुसार, खाजा समयभन्दा अघि बयान सकिने अनुमान छ । त्यसो भयो भने खाजा समयपछि थुनछेक बहस शुरु हुन्छ ।

    मुद्दाका आरोपितहरुलाई थुनामा पठाउने, उनीहरुसँग धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने विकल्पमध्ये कुन प्रक्रिया अपनाउने भनी तय गर्न थुनछेक बहस हुन्छ । त्यसपछि इजलासले तीन विकल्पमध्ये कुनै आदेश दिनेछन् ।


    प्रतिक्रिया दिनुहोस