२०६४ सालको संविधान सभाको निर्वाचनको अघिल्लो दिन पूर्वमन्त्री एवं कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताब आलमले घटाएको भनिएको बम विष्फोट र त्यसका घाइतेलाई जिउँदै इँटाभट्टामा लगेर पोलिएको भनिएको घटना नै नभएको निष्कर्ष उच्च अदालतले निकालेको छ।
उच्च अदालत, जनकपुरको वीरगन्ज इजलासले जिल्ला अदालत, रौतहटको फैसला उल्टाउँदै उक्त घटना नै नभएको ठहर गरेको हो। घटना नै भएपछि कसैलाई शंकाका भरमा सजाय पनि गर्न नहुने उच्च अदालतले फैसलाको पूर्ण पाठमा भनेको छ।
गत जेठ १४ गते उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले गरेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक गरेको छ।
२०६४ सालको संविधान सभाको निर्वाचनमा उम्मेदवार रहेका नेकपा माओवादीका सुरेन्द्र प्रसाद जयसवाल, नेकपा एमालेका शैलेन्द्र साह, मधेसी जनअधिकार फोरमका अब्दुल जवार, तराई मधेस लोकतान्त्रिक पार्टीका नागेन्द्र प्रसाद सिंह, स्वतन्त्र उम्मेदवार अफताब आलम, स्वतन्त्र उम्मेदवार राम विनोद साह सोनार, स्वतन्त्र उम्मेदवार असगर अलि खाँ, स्वतन्त्र उम्मेदवार सोहन प्रसाद गुप्ता, स्वतन्त्र उम्मेदवार मोहमद अवास, स्वतन्त्र उम्मेदवार राजेश कुमारले जिल्ला प्रहरी कार्यालय रौतहटमा मिति २०६४ चैत ३० मा हुलाकद्वारा संयुक्त पहिलो जाहेरी दरखास्त दर्ता गराएको देखिन्छ। सो जाहेरीमा नेपाली कांग्रेसका उम्मेदवार मो. अफताव आलमलाई मात्र विपक्षी बनाएको देखिन्छ।
सो जाहेरीमा मिति २०६४ चैत २७ गते साँझ ६:३० बजेको समयमा नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद अफताव आलमको घरमा बम विष्फोट भएको, सो घटनामा पिन्टु सिंह भन्ने त्रिलोक प्रताप सिंह, ओसी अख्तर मिया लगायत दर्जनौँको मृत्यु भएको र निजको घर ध्वस्त भई भत्केको र त्यसमा मृत्यु भएका दर्जनौँ लासलाई घटनास्थल नजिकैको निजको आफन्तको इटा पकाइरहेको चिम्नीमा जलाई नष्ट गरेको हो। निज विपक्षीले निर्वाचन (कसुर र सजाय) ऐन, २०६४ को दफा ४, ४(ख), ७, ८, १० समेतको कसुर गरेको र संविधान सभा निर्वाचन आचार संहिता, २०६४ को दफा १३ समेतको उल्लंघन गरेकोले प्रचलित कानुन बमोजिम कारवाही गरी पाउन माग गरेको देखिन्छ। जिल्ला प्रहरी कार्यालयबाट उक्त जाहेरी दरखास्त सनाखत गराउन दरखास्तवालालाई खोजतलास गर्दा सबै जना काठमाडौँतर्फ गएको बुझिएको भनी मिति २०६५ वैशाख १० मा प्रतिवेदन पेस भएको देखिन्छ।
अब जाहेरवालाहरूले अदालतसमक्ष गरेको वकपत्रको विश्लेषण गर्दा, २०६४ चैत ३० मा सुरु जाहेरी दिने २०६४ सालको संविधान सभाको निर्वाचनमा उम्मेदवार रहेका नेकपा माओवादीका सुरेन्द्र प्रसाद जयसवाल, नेकपा एमालेका शैलेन्द्र साह, मधेसी जनअधिकार फोरमका अब्दुल जवार, तमलोपाका नागेन्द्र प्रसाद सिंह, स्वतन्त्र उम्मेदवार अफताब आलम, स्वतन्त्र उम्मेदवार राम विनोद साह सोनार, स्वतन्त्र उम्मेदवार असगर अलि खाँ, स्वतन्त्र उम्मेदवार सोहन प्रसाद गुप्ता, स्वतन्त्र उम्मेदवार मोहमद अवास, स्वतन्त्र उम्मेदवार राजेश कुमारमध्ये स्वतन्त्र उम्मेदवार राजेश कुमार र स्वतन्त्र उम्मेदवार असगर अलिखाले २०७६ साउन २५ मा र नेकपा एमालेका उम्मेदवार रहेका शैलेन्द्र साहले २०७६ साउन २५ मा घटना विवरण कागज गरेको देखिन्छ। सो संयुक्त जाहेरी दरखास्तवाला मध्येका रामविनोद साह सोनार, अब्दुल जवार, नागेन्द्र प्रसाद सिंहले अदालतमा वादीको साक्षीको रुपमा उपस्थित भई वकपत्र गर्दा संयुक्त जाहेरी दरखास्तमा भएको सहीछाप र बेहोरा आफ्नो नरहेको, वारदात भएको भनिएको मिति २०६४ चैत २७ मा कुनै प्रकारको घटना नभएको भनी एकै मिलानको वकपत्र गरिदिएको देखिन्छ। सोही जाहेरी दरखास्तवालामध्येका सुरेन्द्र प्रसाद जयसवाल, अकताव आलम र सोहन प्रसाद गुप्ताले अदालतमा उपस्थित भई जाहेरी बेहोरा समर्थन नगरेको अवस्था छ।
जाहेरी दरखास्तवाला मध्येका २०७६ साउन २४ मा घटना विवरण कागज गर्ने असगर अलि खाँ र राजेश कुमारले अदालतमा उपस्थित भई वकपत्र नगरेको अवस्था छ। यसरी सो जाहेरी दरखास्तवाला ९ जनामध्येका ३ जनाले वारदात नभएको भनी जाहेरी दरखास्तविपरीत एकै मिलानको वकपत्र गरेका र ५ जना अदालतमा वकपत्रको लागि उपस्थित नभएकोले सो जाहेरी व्यहोरा विश्वासनीय प्रमाणको रूपमा ग्रहणयोग्य रहेको देखिएन।
तत्पश्चात् २०६५ वैशाख १८ मा नारायण सिंह राजपुत र रोक्साना खातुनको अलगअलग जाहेरी दरखास्त परेको देखिन्छ। जाहेरवाला नारायण सिंह राजपुतले दिएको जाहेरी दरखास्तमा विपक्षीहरूले आफ्नो छोरा त्रिलोक प्रताप सिंहलाई आफ्नो चुनाव प्रचारमा लिई गएको, अफताव आलमकै आफन्तको खपरावाला घरमा चैत २७ गते साँझ ६:३० बजे बम विस्फोटन गरी छोरा घाइते भएको, इलाज गराउन घर जान्छु भन्दा पनि अपराधीहरूले सुरक्षा बलसमेतको सहयोग लिई घाइते छोरालाई इलाज गराउनुको सट्टा उल्टै गाउँको नजिकको इँटा पकाउने भट्टामा बाहिर रहेको दाउरा हाल्ने प्वालमा हाली जलाई लास बेपत्ता गरेको व्यहोरा उल्लेख गरेको देखिन्छ।
यसैगरी जाहेरवाला रोक्साना खातुनको जाहेरी दरखास्तमा २०६४ चैत २७ गते साँझ ६:३० बजे अफताव आलम र महताव आलम समेतले भोलिपल्ट हुने संविधान सभा चुनावलाई आफ्नो पक्षमा पार्न निज अफताब आलमकै आफन्तको खपडावाला घरमा बम पडकाउँदा मेरो छोरा ओसी अख्तरलाई लागी घाइते बनाइदिएकोमा सो घाइते छोरा छट्पटाउँदा इलाज गराउनुको सट्टा रहस्यमय घटना खुलासा होला भनी अफताव आलमकै मतका व्यक्तिको इँटाभट्टामा जिउँदै छोरालाई हाली मारेको कुरा थाहा पाएको उल्लेख छ। त्यसपछि अफताव आलमको घरमा गई सोधपुछ गर्दा ‘तिम्रो छोरा मरिसक्यो, तिम्रो छोराको जुत्तासम्म शेख मोबिन आलमको जिम्मामा छ’ भनी भन्दा सो जुत्तासम्म फिर्ता दिएको, निज अपराधीहरूले सुरक्षाबल प्रशासन समेतको सहयोग र सक्रियतामा घटना र अपराधको दशी सबुद लोप पार्ने षड्यन्त्र रची मारी छोराको लाससम्म नदिएको वेहोराको जाहेरी दरखास्त दिएको देखिन्छ।
जाहेरवाला श्रीनारायण सिंह राजपुतको जाहेरी दरखास्तमा सो वारदातको बारेमा कसरी जानकारी प्राप्त हुन आएको हो खुलेको देखिँदैन। निजले सुरु अदालतमा वकपत्र गर्दा सो मितिको घटना आँखाले नदेखेको भनी उल्लेख गरेको देखिन्छ। जाहेरी व्यहोरामा सुरक्षाबल समेतको सहयोग लिई इँटा पकाउने भट्टामा दाउरा हाल्ने प्वालमा हाली लास बेपत्ता पारिएको भनी उल्लेख गरेको देखिन्छ।
सुरक्षा बलको सहयोग लिई लास बेपत्ता पारिएको भनिए तापनि अभियोगपत्रमा सुरक्षाकर्मीलाई प्रतिवादी नै बनाइएको देखिँदैन। जाहेरवाला प्रत्यक्षदर्शी नरहेको र वारदातको जानकारीको स्रोत नखुलेको तथा सुरक्षाबलको सहयोग लिई लास बेपत्ता पारिएको जाहेरी व्यहोरा विश्वसनीय देखिन आएन।
यसैगरी जाहेरवाला रोक्साना खातुनको जाहेरी दरखास्तमा सुरक्षाबल प्रशासनको सहयोग र सक्रियतामा ओसी अख्तरलाई इँटाभट्टाको इँटा पोल्ने प्वालको आगोको रापमा हाली जलाइएको बेहोरा उल्लेख गरेको देखिन्छ। सुरक्षाबल र प्रशासन समेतको सहयोग र सक्रियतामा मृतकलाई जलाएको भनिएकोमा कुन सुरक्षाबल र प्रशासनको सहयोग र सक्रियतामा सो कार्य भएको हो? अभियोग दाबीमा खुल्न नआएको ती व्यक्तिहरूलाई प्रतिवादी नबनाइएको समेतका आधारमा जाहेरी व्यहोरा विश्वसनीय देखिन आएन। निज जाहेरवालाको अदालतमा वकपत्र हुन नसकेको अवस्था पनि देखिन्छ।
मृतकको लास इँटाभट्टाको आगोमा हाली लास बेपत्ता पारिएको अभियोग दाबी देखिन्छ। आगोमा लास पोल्दा लासको मांसपेशी लगायतका कुरा जली वाष्पीकरण भई लोप हुन सक्छ तर लासको हड्डी खरानी (अस्तु) मा परिणत हुन्छ। खारानीको फोरेन्सिक परीक्षणबाट मानव शरीर जलाई खरानीमा परिणत भएको कुरा पत्ता लाग्न सक्छ भन्ने कुरा चिकित्किय विधिशास्त्रको स्थापित मान्यता हो।
त्यसकारण मान्छे जलाई दसी लोप हुन सक्ने होइन, दसीको रूपसम्म परिवर्तन हुन सक्ने हो। खरानीको परीक्षण गरी मानव शरीर जलाइएको हो भन्ने कुरा पुष्टि गर्ने प्रमाणको भार वादीमा नै रहन्छ।
वारदात भएको दाबी गरिएको राजा इँटाभट्टामा २०६५ वैशाख १५ मा प्लास्टिकको सानो २ बोरामा प्रहरीले खरानी उठाई परीक्षणका लागि पठाएको देखिन्छ। सोको जाँच गर्ने केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाले दिएको २०६५ जेठ १३ को प्रतिवेदनमा ब्लड कुड नट बी डिटेक्टेड भन्ने राय आएको देखिन्छ।
यसका अतिरिक्त जिल्ला प्रहरी कार्यालय, रौतहटले केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालामा २०६५ वैशाख २३ मा बम विस्फोट भएको भनिएको ठाउँको माटोको परीक्षण गरिदिन पठाइएको देखिन्छ।
सोको जवाफमा केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाले २०६५ जेठ २० मा विस्फोटक पदार्थ परीक्षण गर्ने सुविधा प्रयोगशालामा नरहेको भनी जवाफ पठाएको देखिन्छ। अर्थात् वादी दाबीको शेख इन्द्रिसको घरकोठा वा अफताब आलमको घरमा बम विष्फोट भएको भन्ने वादीले पुष्टि गर्न सकेको देखिएन।
जाहेरवाला श्रीनारायण सिंह राजपुतको अदालतसमक्ष बयान गर्दा आफ्नो छोरा त्रिलोक प्रताप सिंह उपर जिल्ला अदालतमा मुद्दा चलेको कुरा स्वीकार गरेको देखिन्छ। प्रतिवादीको तर्फबाट प्रतिरक्षा गर्ने कानुन व्यवसायीहरूले रौतहट जिल्ला अदालतमा वादी नेपाल सरकार पिन्टु भन्ने त्रिलोक प्रताप सिंह प्रतिवादी रहेको मानव ओसारपसार मुद्दा २०६४ पुस ३ मा दायर भई अदालतबाट २०६५ पुस २० मा फैसला भएको र सो फैसलामा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह फरार प्रतिवादी रहेको भन्ने देखिन्छ।
राजा इँटाभट्टाका कामदारहरू २०६४ चैत २७ मा साँझदेखि रातिसम्म सो इँटाभट्टामा नै रहे बसेको भन्ने अनुसन्धानबाट देखिन्छ। ती सबै कामदारहरूले मृतक लास इँटाभट्टामा जलाइएको होइन भनी मौकामा र अदालतमा वकपत्र गरेको अवस्था छ।
लास इँटाभट्टामा जलाई नष्ट गर्नेजस्तो गम्भीर कसुरमा त्यहाँका कामदारहरूले सहमति दिएका होलान् भन्ने कुरा विवेकसंगत देखिएन। यदि सो कसुरमा सहमति जनाएको भन्ने वादी दाबी हो भने ती व्यक्तिहरू पनि कसुरदार हुने भई वादीले ती व्यक्तिहरूलाई पनि प्रतिवादी कायम गरी अभियोग लगाउनुपर्ने हो। ती व्यक्तिहरू मृतक लासलाई इँटाभट्टामा जलाउन सहमत रहेको अवस्थामा ती व्यक्तिहरूलाई प्रतिवादी कायम नगरी अभियोग दायर गरेबाट नै अभियोग दाबी विरोधाभासयुक्त रहेको देखिन आयो।
अब अनुसन्धानको क्रममा तयार गरिएको घटनास्थल मुचुल्का, बरामदी मुचुल्का र घटनाविवरण कागजको विवेचना गरौं।
अनुसन्धानकर्ताले २०६५ वैशाख १४ मा जाहेरी दरखास्तमा उल्लिखित शेख इन्द्रिसको गोठ घरको घटनास्थल मुचुल्का तयार गरेको देखिन्छ। सो मुचुल्कामा शेख इन्द्रिसको गोठ घरको ६ वटा कोठा रहेको देखिन्छ। सो मध्ये १ नं. कोठामा परालको भुस रहेको, भुसको भाग निकाली हेर्दा सामान्य रहेको देखिएको, सो घर पुरानो र नयाँ खपडाले छाएको अवस्थामा रहेको, घरको पूर्व–दक्षिणतर्फको छानामुनि पुरानो माकुराको जाल लागेको रहेको देखिएको छ।
२ नं. कोठामा प्रवेश गरी हेर्दा छानमुनि माकुराको जाल लागेको देखिएको, भुईँ जमिनमा गाईवस्तुको खानको लागि भुस राखेको अवस्थामा रहेको, ३ नं. कोठामा भुईँ जमिनमा खाना पकाउने दाउरा राखिएको र छानामुनि माकुराको जाल लागेको, ४ नं. कोठामा गाईवस्तु बाख्रा बाँध्ने गरेको स-साना किल्ला गाडिएको अवस्थामा रहेको, ५ नं. कोठामा भुईँ जमिनमा बालुवा रहेको र सो बालुवामाथि आलु रहेको, छानामुनि माकुराको जाल लागेको, ६ नं. कोठामा टयाक्टर गाडीको पुरानो पार्टपुर्जाहरू रहेको देखिएको र छानमुनि माकुराको जालो लागेको रहेको सो कोठाहरू अगाडि रहेको बरन्डामा धान राख्ने भकारी रहेको र छानामुनि माकुराको जाल लागेको देखिएको अवस्था मुचुल्काबाट देखिन्छ।
यसैगरी मुचुल्कामा प्रत्येक कोठाहरूमा रहेको चिजवस्तुहरू हटाई हेर्दा सामान्य अवस्थामा रहेको, सो कोठाहरूमा कुनै प्रकारको विष्फोटन नभई क्षति भएको जस्तो नदेखिएको, सो कोठाहरूमध्ये १, २, ३ र ४ कोठाहरूबाट भुईँ जमिन खनी छुट्टाछुट्टै माटो निकाली प्रहरीले आफ्नो साथमा लगेको भन्ने व्यहोरा लेखाएको देखिन्छ।
यसैगरी वारदात दाबीको राज इँटा उद्योग प्रालिको २०६५ वैशाख १५ मा तयार गरेको घटनास्थल मुचुल्कामा १५ दिनअगावै इँटा पकाएको खरानी रहेको, सो खरानीमध्येबाट प्लास्टिकको सानो २ बोरामा प्रहरीले खरानी उठाई लगेको, सो इँटाभट्टामा मानिस जलाएको नदेखिएको भनी विवरण खुलाएको देखिन्छ।
यसैगरी जाहेरी दरखास्तमा मोहम्मद अफताब आलमको घरको २०६५ वैशाख १५ मा गरिएको घटनास्थल मुचुल्कामा सो घरको सबै कोठाहरू जाँच गर्दा ठीक दुरुस्त हालतमा रहेको, सो कोठाभित्र कुनै प्रकारको बम विष्फोटन नभएको देखिएको विवरण देखिन्छ।
अनुसन्धानको क्रममा २०६५ वैशाख २० मा तयार गरिएको घटनास्थल बरामदी मुचुल्कामा मोहम्मद अफताब आलम र मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलमको घरमा आपराधसँग प्रमाण लाग्ने दसीको कुनै सबुद फेला नपरेको भनी विवरण तयार गरेको देखिन्छ।
मृतक भनिएको ओसी अख्तरको स्वीटर, जुत्ता, मोजाहरूको परीक्षण प्रतिवेदनमा जाँच गर्ने केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाको २०६५ जेठ १३ को प्रतिवेदनमा रगत फेला नपरेको अवस्था छ।
राजा इँटा उद्योग प्रालिका प्रोपराइटर मो. एखलाल आलम सो उद्योगमा काम गर्ने मोजामिल आलम, शेष मलकार, आवास मिया, मोसुदिन मियाले अनुसन्धानको क्रममा गरेको कागजमा २०६५ चैत २७ मा इँटाभट्टामा काम गर्ने साहु तथा कामदारबाहेक अन्य कोही पनि नआएको, मृतक लास ल्याई इँटा पकाउनेमा जलाई नष्ट गरेको होइन भनी कागज गरेको देखिन्छ।
मृतक भनिएका पिन्टु भन्ने त्रिलोक प्रताप सिंह रौतहट जिल्ला अदालतमा २०६५ पुस ३ मा चलेको मानव ओसारपसार मुद्दाको फरारी प्रतिवादी रहेको रौतहट जिल्ला अदालतको २०६५ पुस २० को फैसलाबाट देखिन्छ। आफ्नो पति मृतक भनिएका ओसी अख्तर मिया मजदुरको सिलसिलामा विदेश गएको भनी निजकी श्रीमती आमना खातुनले रौतहट जिल्ला अदालतमा २०७६ कात्तिकमा सत्यतथ्य खुलाई निवेदन दिएको देखिन्छ र सोही व्यहोराको अदालतमा वकपत्र गरेको देखिन्छ।
ओसी अख्तरका ससुरा समसुल मियाले २०६४ सालको निर्वाचनको तीन-चार दिनपछि ओसी अख्तर मिया र त्रिलोक प्रताप सिंहले आफूसँग सर्लाही जिल्लाको लालबन्दीमा भेट गरेको, त्यसपश्चात् मात्र घरबाट निस्केका हुन् भनी अदालतमा वकपत्र गरेको देखिन्छ।
मृतक भनिएका ओसी अख्तरका काका जाजुल मिया कवारीले २०६४ चैत २७ को कागज झुटा हो, बम विष्फोट भएको छैन, आफ्नो भतिजो मरेको भन्ने झुटा हो, मृतक भनिएका ओसी अख्तरले चुनावको तीन-चार दिनपछि सर्लाहीको लालबन्दीमा समसुल मियालाई भेटेको थिएँ, झुटा मुद्दा चलाउन वर्ष दिनपछि मृत्युदर्ता प्रमाणपत्र बनाएका थिए, २०६५ वैशाख २८ मा आफूलाई जबरजस्ती कागज गराएका थिए भनी वकपत्र गरेको देखिन्छ।
मृतक भनिएका व्यक्तिहरूलाई इँटाभट्टाको आगोको भुंग्रोमा जलाएको भए सोको खरानीबाट मान्छे जलाएको फोरेन्सिक जाँचबाट पुष्टि गर्नुपर्नेमा सो पुष्टि हुन नसकेको अवस्था एकातिर छ भने बम विष्फोटनबाट घाइते भएको दाबी गरिएका त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाको कपडा र जुत्तामा रगत फेला नपरेको अवस्था अर्कोतिर छ।
वादी नेपाल सरकारले तयार गरेको घटनास्थल मुचुल्कामा बम विष्फोट नभएको र इँटाभट्टामा मानिस जलाएको नदेखिएको र सो कुरा इँटाभट्टामा काम गर्ने व्यक्तिहरूको वकपत्रबाट पुष्टि भएको अवस्था छ।
सर्वोच्च अदालतको आदेश बमोजिम पुनः अनुसन्धान हुँदा २०७६ साउन २५ मा घटना विवरण कागज गर्ने शैलेन्द्र साह समेतका व्यक्तिहरूले ‘बम विष्फोटनबाट पूर्ण रुपले क्षति भएको शेख इन्द्रिसको गोठा घर यी सबै प्रतिवादीहरू भारतीय नागरिक आफन्तहरूको सहयोगमा सोही राती पुनः गोठ घर निर्माण गरी सो गोठ घरमा गाईवस्तुको लागि भुस राखी त्यसपछि अन्य पुराना घरहरूबाट माकुराको जालो ल्याई सो घरभित्र घरको छानामा जालो लगाई घटनास्थललाई कृत्रिम रुपमा परिवर्तन गरेका हुन्’ भनी कागज गरेको देखिन्छ।
माकुराको जालो अति संवेदनशील रहने, त्यसलाई उठाउँदा वा चलाउँदा नष्ट हुने र एक ठाउँबाट अर्को ठाउँमा लगी जालो लगाउन सम्भव छैन भन्ने सामान्य ज्ञानको विषय हो। घटना विवरण कागज गर्नेमध्येका शैलेन्द्र साहले अदालतमा उपस्थित भई वकपत्र गर्दा ‘माकुराको जालो एक घरबाट अर्को घरमा लगेर राख्न हुबहु सकिँदैन’ भनी खुलाएको पनि देखिन्छ।
बम विष्फोटनबाट क्षतिग्रस्त गोठघर पुनः निर्माण गरी भुस राख्न सकिएला तर पुरानो घरबाट माकुराको जालो ल्याई घरको छानोमा जालो लगाउन सकिन्छ भन्ने कुरा विश्वसनीय देखिन आएन। अनुसन्धानकर्ताबाट २०६५ वैशाख १४ मा तयार गरिएको घटनास्थल मुचुल्काको सत्यता र मौलिकता गोठघरको छानोमा लागेको माकुराको पुरानो जालोबाट पुष्टि हुन्छ।
अनुसन्धानको क्रममा संकलन गरिएको घटनास्थल मुचुल्का वारदातको धरातलीय प्रमाण मानिन्छ। यसको जगमा अन्य प्रमाणहरूको प्रामाणिक स्तर देखिन्छ। विष्फोट भएको भनिएको दाबीको गोठघरको अवस्था सामान्य रहेको, सो कोठाहरूमा कुनै प्रकारको विष्फोट नभई क्षति भएजस्तो नदेखिएको भनी घटनास्थल मुचुल्कामा नै उल्लेख भएको अवस्थामा तथा सो घटनास्थल मुचुल्कालाई झुटा सावित गरी सो गोठघरमा बम विष्फोटन भएको हो भनी पुष्टि हुने सोही स्तरको भरपर्दो र विश्वसनीय ठोस र वस्तुनिष्ठ प्रमाणको अभावमा अदालतले वादी दाबी बमोजिम सो गोठघरमा बम विष्फोट भएको हो भनी मान्न मिल्ने देखिएन।
सो गोठघरमा बम विष्फोट भएको हो भनी वादीले नै पुष्टि गर्नुपर्छ। सोको ठोस र वस्तुनिष्ठ प्रमाणको अभावमा वादी दाबी पुग्न सक्दैन।
सर्वोच्च अदालतबाट महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नचलाउने गरी २०६९ जेठ १६ मा गरिएको निर्णयसम्म बदर गरी पुनः अनुसन्धान गर्न आदेश गरेको हो। अनुसन्धानबाट संकलित सबुत प्रमाण बदर गरेको अवस्था होइन। मौकाको घटनास्थल मुचुल्का मिसिलमा यथावत रहे भएकै देखिन्छ, जसमा प्रष्टसँग विष्फोटको घटना घटेको छैन भन्ने व्यहोरा उल्लेख रहेको छ।
शैलेन्द्र साह समेतले दिएको जाहेरी दरखास्तमा आलमको घरमा बम विष्फोट भएको थियो भनी उल्लेख गरेको देखिन्छ। आलमको घर र शेख इन्द्रिसको घर परस्परमा सँधियार नरहेको भन्ने वस्तुस्थिति मुचुल्काबाट देखिन्छ। बम विष्फोटनको दाबी गरिएको घर शेख इद्रिसको घर हो वा अफताव आलमको भन्ने अनुसन्धान स्पष्ट देखिएन।
अनुसन्धानको क्रममा अफताब आलमको घरमा समेत मिति २०६५ वैशाख १५ मा घटनास्थल मुचुल्का खडा गरेको देखिन्छ। सो घरमा बीचमा आगन भई चारैतिर ८ वटा कोठाहरू रहेको, कोठाहरू जाँच गर्दा बम पड्केको नभई ठीक दुरुस्त हालतमा रहेको, माथिल्लो तलामा प्रवेश गरी हेर्दा ८ वटा कोठा र २ वटा ट्वाइलेट रहेको, उक्त कोठाहरू जाँच गर्दा ठीक दुरुस्त हालतमा रहेको, कोठाभित्र कुनै प्रकारको बम विष्फोटन नभएको देखिएको भनी विवरण तयार गरेको देखिन्छ। यसरी यस घटना विवरण कागजबाट समेत बम विष्फोटको वारदात भएको भन्ने देखिएन।
बम विष्फोटनका घाइतेहरूलाई निज अफताब आलमको मतका व्यक्तिको राजा इँटाभट्टामा लगी चिम्नीमा हाली जलाई नष्ट गरिएको भनिएको राजा इँटाभट्टाको पनि मिति २०६५ वैशाख १५ मा घटनास्थल मुचुल्का खडा गरेको देखिन्छ। मुचुल्कामा सो इँटाभट्टामा १५ दिनअगावै इँटा पकाएको खरानी रहेको, प्लाष्टिकको सानो २ बोरामा प्रहरीले खरानी उठाई लगेको, सो इँटाभट्टादेखि दक्षिण र पश्चिममा लेबर बस्ने सानो फुसको छाप्रो रहेको, सो इँटाभट्टामा मानिस जलाएको नदेखिएको भनी विवरण तयार गरेको देखिन्छ।
वादीले नै तयार गरेको घटनास्थल मुचुल्कामा सो इँटाभट्टामा मानिस जालएको नदेखिएको भनिरहेको अवस्थामा उक्त घटनास्थल मचुल्कालाई झुटा सावित गरी मानिस जलाइएको देखिने कुनै ठोस सबुद प्रमाणको अभावमा उक्त राजा इँटाभट्टामा मानिस जलाइएको हो भनी निष्कर्षमा पुग्न सक्ने देखिएन।
अनुसन्धानको क्रममा २०६५ वैशाख २० मा मोबिन आलमको घर, शेख भदैको घर, मो. अफताब आलम र मो. महताब आलमको घरको अलग अलग खानतलासी बरामदी मुचुल्का तयार गरेको देखिन्छ। ती सबै मुचुल्कामा “अपराधसँग प्रमाण लाग्ने दसीका सामान फेला नपरेको” भन्ने देखिन्छ। खानतालासी, बरामदी मुचुल्काबाट प्रतिवादीहरू उपरको अभियोग दाबी पुष्टि हुने देखिएन।
अनुसन्धानको क्रममा कागज गर्ने राजा इँटाभट्टाका मो. एकलाख आलम, मोजामिल आलम, शेष मलकार, आवास मिया, मोसुदिन मियाले २०६४ चैत २७ मा इँटाभट्टामा काम गर्ने साहु तथा कामदारबाहेक अन्य कोही पनि नआएको, लास ल्याई इँटा पकाउनेमा जलाई नष्ट गरेको होइन भनी एकै मिलानको कागज गरेको देखिन्छ। कागज गर्नेमध्येका मो. एकलाख आलम, मोजामिल आलम, आवास मियाले अदालतमा उपस्थित भई सोही व्यहोरा समर्थन गरेको देखिन्छ। उल्लिखित घटना विवरण कागज एवं वकपत्र वादीका विरुद्ध प्रमाणमा ग्रह्य हुन्छ। यसबाट राजा इँटाभट्टामा मृतक लास ल्याई जलाईएको अभियोग दाबी झुटा रहेको देखिन आयो।
घटना विवरण कागज गर्ने सराजुल मियाले घटना विवरण कागज गरेकोमा निज अदालतमा उपस्थित भई वकपत्र नगरेकाले प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाणमा ग्रहण गर्न मिलेन। प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम तहकिकातको सिलसिलामा बुझिएका व्यक्तिहरू तथा खडा गरिएका मचुल्कामा बस्ने साक्षीहरूको अदालतमा सोधपुछ र जिरहको माध्यमबाट परीक्षण गर्नु आवश्यक हुन्छ। तब मात्र साक्षीले अनुसन्धानको सिलसिलामा भनेका कुराहरू विश्वासयोग्य हुन्छ।