बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बिरामीको उपचारमा लापरबाहीः ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने अदालतको फैसला


    हुलाक प्रेस

    • सोमबार, असार १६ २०८२०८:०६
    बिरामीको उपचारमा लापरबाहीः ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने अदालतको फैसला

    काठमाडौं । बिरामीको उपचारमा लापरबाही गरेको भन्दै उपभोक्ता अदालतले ग्राण्डी सिटी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकले बिरामी पक्षलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।

    उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्मा तथा सदस्यहरु गेहेन्द्रराज रेग्मी र आन्नदराज पोखरेलको इजलासले अस्पताल र चिकित्सकले ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो । 

    वर्षा भण्डारीले आफ्नो उपचारमा लापरबाही भएको दाबी गर्दै उपचारमा संलग्न चिकित्सक र अस्पतालमाथि ३ करोड १७ लाख रुपैयाँ क्षतिपूर्ति दाबी गरी गत चैत ११ गते मुद्दा दर्ता गराएकी थिइन् । उपभोक्ता अदालतले सोही मुद्दामा क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका स्रेस्तेदार शोभाकर खरेलले जानकारी दिए ।

    उनका अनुसार मुद्दामा अदालतले लापरबाहीको तुलनात्मक दायित्वलाई विचार गरी ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो । 

    अदालतको फैसला अनुसार क्षतिपूर्ति रकममध्ये ७० प्रतिशत अर्थात ४० लाख ३ हजार ३०० रुपैयाँ डाक्टर डा संजिव त्रिपाठी र ३० प्रतिशत अर्थात १७ लाख १५ हजार ७०० रुपैयाँ ग्राण्डी हस्पिटलले बेहोर्नुपर्ने खरेलले जानकारी दिए ।

    वर्षा खुट्टाको तिघ्राको पछाडिको भागले दुःख दिएपछि उपचारका लागि अस्पताल पुगेकी थिइन् । उनको खुट्टामा रहेको बोसो निकालेर प्लाष्टिक सर्जरी गरिएको थियो । वर्षाले दायर गरेको मुद्दा अनुसार चिकित्सकले दुईपटक अपरेसन गरेका थिए । तर निको हुनुको साटो संक्रमण भएर थप पीडा बढेको भन्दै उनले क्षतिपूर्ति माग गर्दै मुद्दा हालेकी थिइन् ।

    यसअघि अदालतले हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने र ओम अस्पताल र चिकित्सकलाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिराउने फैसाल गरेको थियो ।


    प्रतिक्रिया दिनुहोस